झापा, बैशाख १८ । झापाको दमक नगरपालिकाबाट अवलोकन भ्रमणमा गएको टोली चितवनबाट फर्कँदै गर्दा आज दिउँसो उदयपुरको कटारीनजिक दुर्घटनामा परी एक जना अधिकृतको ज्यान गएको छ ।

मृत्यु हुनेमा दमक नगरपालिका वडा नं. ३ घर भई दमक नगरपालिकामा कानुन अधिकृतको रुपमा कार्यरत ५५ वर्षीय माधव बस्नेत रहेका छन् ।प्रादेशिक अस्पताल कटारीमा उपचारका क्रममा उनको मृत्यु भएको हो । त्यस्तै घाइते हुनेहरुमा दमक नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिहरु परेका छन् ।
घाइते हुनेहरुमा दमक –१० का वडाध्यक्ष ४९ वर्षीय राजेन्द्रप्रसाद भण्डारी (बायाँ गाला र बायाँ हात खुट्टामा चोट अवस्था मध्यम ) , दमक –१ बस्ने अमिन ४५ वर्षीय ज्ञानेन्द्र गौतम( टाउको र बायाँ गालामा चोट अवस्था मध्यम ),दमक –६ का वडा सदस्य तथा न्यायिक समिति सदस्य ५४ वर्षीय कमल श्रेष्ठ (टाउको र बायाँ पाखुरामा चोट अवस्था बोल्न सक्ने सामान्य ), दमक –२ बस्ने कानुन शाखाका नायव सुब्बा ३८ वर्षीय नवीन खतिवडा (दायाँ हातमा चोट अवस्था सामान्य ) , गौरादह –१ बस्ने अधिकृत छैठौ (प्रशासन) ५४ वर्षीय भुवन दाहाल (टाउको र दायाँ हातमा चोट अवस्था बोल्न सक्ने सामान्य ) र चालक दमक –९ बस्ने ३८ वर्षीय देवेन्द्र तामाङ ( दायाँ हात र बायाँ घुँडामा चोट अवस्था बोल्न सक्ने सामान्य ) रहेका छन् । प्रादेशिक अस्पताल कटारीमा सामान्य उपचारपछि घाइतेहरुलाई थप उपचारका लागि न्यूरो अस्पताल विराटनगर रेफर गरिएको उदयपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुईंटेलले बताए ।

प्रजिअ लुईंटेलका अनुसार दमक वडा नं. १० का अध्यक्ष राजेन्द्रप्रसाद भण्डारीको अवस्था केही जटिल भए पनि अन्य ५ जनाको अवस्था भने खतरामुक्त रहेको छ । दिउँसो ४ः १० बजे मदन भण्डारी लोकमार्गअन्तर्गत कटारी नगरपालिका–६ स्थित सोमबारेमा उनीहरु चढेको मे १ च ३०४० नम्बरको स्कोरपियो आफै अनियन्त्रित भई सडक साईडमा लगाएको फलामको ट्रस्ट बेरियरमा ठोक्किएर दुर्घटना भएको थियो । गत बैशाख १२ गते शुक्रबारका दिन स्थानीय तहको न्याय सम्पादनको विषयमा पालिका स्तरको अवलोकन भ्रमणमा उनीहरु गएका थिए ।