झापा,बैशाख १८ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर वीरता लेडी जेसीजले ८ जना श्रमिकलाई सम्मान गरेको छ ।

श्रम सम्मान तथा अन्तरक्रिया कार्यक्रममा सुनचाँदीको काम गर्ने ८ जना कालिगढलाई लेडी जेसीजले सम्मान गरेको हो । सम्मानित हुनेहरुमा ज्येष्ठ कालिगढ मानबहादुर पोर्तेल ,सेटिङमा गणेश मण्डल,चाँदीको मौलिक गरगहना बनाउने अर्जुन विश्वकर्मा,छिलाईमा मिथुन ,फेन्सीमा मिथुन पाल ,महिला कालिगढमा मनु गहतराज, पार्वती बिक र रन्जु विक रहेका छन् ।
नेपाल सुनचाँदी व्यवसायी संघ झापाका अध्यक्ष रमेश बराईलीको प्रमुख आतिथ्य एवं वीरता लेडी जेसीजकी अध्यक्ष निशा शाक्यको अध्यक्षतामा भएको कार्यक्रममा २००७ का अध्यक्ष साथै पूर्व राष्ट्रिय उपाध्यक्ष देवी भण्डारी,२०२३ का अध्यक्ष संगिता गिरी,संस्थापक अध्यक्ष शारदा ढकाल रिजाल ,निवर्तमान अध्यक्ष मेनुका ओलीलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि सुनचाँदी व्यवसायी संघ झापाका अध्यक्ष बराईली ,पूर्व अध्यक्ष देवी भण्डारी ,संस्थापक अध्यक्ष शारदा ढकाल रिजाललगायतले मन्तव्य राखेका थिए । कार्यकारिणी उपाध्यक्ष चन्द्रकला रिजालले आस्था वाचन,
उपाध्यक्ष तारा बस्नेतले मिसन भिजन र कानुनी सल्लाहकार अस्मिता राईले स्वागत गरेको कार्यक्रमको औचित्यमाथि निवर्तमान अध्यक्ष मेनुका ओलीले प्रकाश पारेकी थिइन् । कार्यक्रमको संचालन महासचिव प्रभा रायले गरेकी थिइन् ।