झापा,बैशाख १९ । ढल्कँदै गएको उमेरसँगै विलीन हुँदै गएको चेतना र स्मृतिकै कारण सामाजिक विभेदमा परेका वृद्धाहरूको सहारा बन्दै आएको छ रामजानकी शान्ति वृद्धाश्रम ।

बुढ्यौली उमेरसँगै शरीर अशक्त हुँदै जाँदा आफ्नोसम्म ख्याल राख्न नसक्ने अवस्थामा पुगेका वृद्धाहरूको सहारा रामजानकी शान्ति वृद्धाश्रम बनेको हो ।
सुनसरीको इटहरी–१६, पकलीमा रहेको रामजानकी शान्ति वृद्धाश्रमले परिवारविहीन एक्लिएका वृद्धालाई सहारा दिँदै आएको छ । विसं २०५६ मा स्थापना भएको आश्रमले हाल १७ जनालाई सहारा दिइरहेको रामजानकी वृद्धाश्रम व्यवस्थापन समितिका अध्यक्ष ठगेन्द्रप्रसाद आचार्यले बताए । आश्रममा वृद्धा माताहरूलाई मात्र आश्रय दिने गरिएको छ । आफ्नो नाम र ठेगानासमेत बताउन नसक्ने स्मृति गुमाएका, सहाराविहीन वृद्धालाई २६ वर्षदेखि आश्रमले सहारा दिँदै आएको अध्यक्ष आचार्य बताउछन् । उनका अनुसार आश्रम स्थापना भएदेखि आश्रमको सहारामा रहेका १७ जनाले बुढ्यौली, दीर्घरोगका कारण ज्यान गुमाइसकेका छन् ।
जीवनमा आरोहअवरोह खेपेर यस उमेरसम्म आइपुगेका वृद्धाको व्रिmयाकलाप नाबालक झँै देखिन्छ । उमेर र अवस्थाले निरीह बनाइएका वृद्धामा पहिलेको स्मृति नै छैन । आश्रमले यथाशक्य वृद्धाहरूको हेरचाह गर्दै आएको आश्रमका सचिव रेणुका ओझा बताउछिन् । उनले भनिन्, “आश्रममा घरपरिवार र आफन्त कसैको पनि सहारा नभएका वृद्धालाई राख्ने गरिएको छ ।”
सचिव ओझाका अनुसार “परिवार भएका वृद्धा पनि आश्रममा आफन्त, छिमेकीमार्फत आउने गर्नुहुन्छ तर उहाँहरू र परिवारलाई यथासम्भव सम्झाइबुझाई गरेर परिवारसँगै पठाउने गरिएको छ । वृद्धावस्थामा परिवार र आफन्तको माया हेरचाहको खाँचो हुन्छ । आश्रमले सहारा दिए पनि परिवारको जस्तो अपनत्व दिन सक्दैन, त्यसैले आश्रममा बेसहारा, जसको अघिपछि कोही छैन, उहाँहरूलाई मात्र राख्ने गरिएको छ ।”
वृद्धाश्रमका लागि रामजानकी मन्दिरले पाँच कट्ठा जग्गा प्रदान गरेको आश्रम व्यवस्थापन समितिले जनाएको छ । त्यही जग्गाभित्र आश्रम छ । १७ वटा कोठाको दुईतले भवनको आश्रममा वृद्धालाई राखिएको छ । पहिलो तलाका कोठाका भित्तामा वृद्धाहरूको आफ्नो नाम लेखिएको कोठा बाहिरभित्र गर्दै वृद्धाहरूको दिन बित्ने गरेको छ । कोठाको बाहिर दलानमा कोही टोलिएर, कोही एकोहोरो बोलेर त कोही कसैको पर्खाइमा झैँ बाटोतिर आँखा लाएर हेरिरहेका वृद्धाहरूको मुहारमा आश्रममा सहयोग गर्ने दाता आउँदा चमक देखिन्छ ।