झापा,बैशाख २० । कोशी प्रदेश सरकारले आयोजना गरेको लगानी सम्मेलनमा ४६ वटा परियोजनामा १ खर्ब ५२ अर्ब लगानीको प्रतिबद्धता आएको छ ।

उक्त परियोजनामा सरकार र लगानीकर्ताहरूबिच द्विपक्षीय समझदारी पत्रमा शुक्रबार हस्ताक्षर भएको छ । कोशी प्रदेश लगानी प्राधिकरणका कार्यकारी निर्देशक डा. सरोज कोइराला र लगानीकर्ताले हस्ताक्षर गरी समझदारी पत्र हस्तान्तरण गरिएको छ ।
लगानी सम्मेलनमा कोदोको रक्सी बनाउने उद्योगदेखि व्यावसायिक कृषि फार्म, कृषिमा आधारित उद्योगहरू, बेसार प्रशोधन, छुर्पीदेखि कफी उत्पादनसम्म, जैविक मल उत्पादनदेखि एग्रो टुरिजम र पर्यटनतर्फ बर्जुताल पर्यटकीय क्षेत्र विकाससम्मका परियोजनाका क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जनाइएको छ ।
लगानी प्रतिबद्धतामा हस्ताक्षर भएका परियोजनामध्ये कृषिमा ३ अर्बको ८ वटा, ऊर्जा क्षेत्रमा ८ अर्ब ६२ करोडको ३ वटा, उद्योगमा ६६ अर्ब ८७ करोडका १२ वटा, पूर्वाधारमा ३८ अर्ब ४१ करोडका ९ वटा, आइटी क्षेत्रमा ४७ करोडको २ वटा, वेस्ट मेनेजमेन्टको क्षेत्रमा ६० करोडका २ वटा र पर्यटन क्षेत्रमा ३४ अर्ब १९ करोडको १० वटा परियोजना छन् । सम्झौता भएका परियोजनाहरूमा २७ वटा पब्लिक प्राइभेट पार्टनरसिप (पीपीपी) मोडलका छन् भने अन्य निजी क्षेत्रले मात्रै लगानी गर्ने प्रतिबद्धता गरिएको छ ।
लगानीकर्ता केपी सिटौलाले २२ करोड लगानीमा देउमाई कफी फार्मिङ प्रोजेक्ट सञ्चालन गर्ने सम्झौतामा हस्ताक्षर गरेका छन् । त्यसैगरी टर्मरिक प्रोडक्सन एण्ड प्रोसेसिङ सेन्टर बराह क्षेत्रका सञ्चालक केशव घिमिरेले १९ करोड रुपैयाँ लगानीमा बेसार उत्पादन तथा प्रशोधन परियोजना, गिरिराज बस्नेतले ग्रिनयार्ड एग्रो फार्म सञ्चालन गर्न ४५ करोड रुपैयाँ, इलामकी कुसुम दाहालले ८० करोड रुपैयाँ लगानीबाट एड्भान्सिङ नेप्लिज टी एण्ड कफी प्रोजेक्ट सञ्चालन गर्ने समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।
यसैगरी नेत्रप्रसाद भण्डारीले १८ करोड लगानीमा छुर्पी प्रोजेक्ट, राजन शर्माले २७ करोड लगानीमा साइट्रस ट्रथ फार्मिङ एण्ड एग्रो टुरिजम, विष्णु अग्रवालले किबी फार्मिङ एण्ड प्रोसेसिङ इन्डस्ट्रिज, ६४ करोड लगानीमा धनकुटा एभोकाडो फार्मिङ प्रोसेसिङ इण्डष्ट्रिज एण्ड एग्रो टुरिजममा लगानी प्रतिबद्धता सम्झौता गरेका छन् ।
विराटनगरका उद्योगी पवनकुमार सारडाले १ अर्ब ६० करोड लगानीमा सुनसरीमा पशुपति इनर्जी प्रोजेक्ट सञ्चालन गर्ने, उदयपुरमा राजेन्द्र श्रेष्ठले ५ अर्ब ६० करोड रुपैयाँ लगानीमा एग्रोभल्टिक सोलार प्रोजेक्ट, संखुवासभामा राजन निरौलाले पाँचखपन हाइड्रोपावर कम्पनीबाट १४२ करोड रुपैयाँ लगानी गर्ने सम्झौता भएको छ ।
यस्तै प्रेसिडेन्ट एग्रोटेकमा शम्भुबाबु कोइरालाले २० करोड, शिवशक्ति बायोटेक मोरङमा अनन्तराम खतिवडाले २७ करोड, हर्बल प्रोसेसिङ प्लान्ट प्रोजेक्ट मोरङमा उदय बरालले ११६ करोड रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाएका छन् ।
यस लगानी सम्मेलनमा नयाँ परियोजनाको रूपमा कोदोको रक्सी प्रोजेक्टले प्रदेश सरकारसँग लगानी सम्झौता गरेको छ । कोदोको रक्सी उत्पादन गर्न आवश्यक कानुन निर्माण नभइसके पनि त्यसलाई ब्राण्डिङ गर्दै उत्पादनतर्फ अगाडि बढ्न सोलुखुम्बु तिलिचो पिक फुड एण्ड ड्रिङ्क प्रा.लि.का जनक राईले ४० करोड लगानी गर्ने सम्झौतामा हस्ताक्षर गरेका छन् ।
कोशी प्रदेश सरकारले लगानी सम्मेलनमा ७१ वटा परियोजना सोकेसमा राखेको थियो । त्यसमध्ये ४६ वटा परियोजनामा लगानी प्रतिबद्धता जुटेको सरकारले जनाएको छ ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा भएको कोशी प्रदेश लगानी सम्मेलनको समापन समारोहमा कोशी प्रदेश सभाका सभामुख अम्बरबहादुर विष्ट, पूर्वमुख्यमन्त्रीहरू, सरकारका मन्त्रीहरू तथा विशिष्ट पाहुनाहरूको उपस्थिति थियो ।