केशव भट्टराई,
जीवन सामान्यतया एउटा यात्रा हो । तर केही व्यक्तित्वका लागि यो यात्रा निर्दिष्ट गन्तव्य प्राप्ति र परिवर्तनको प्रतीक बन्न पुग्दछ। अनेकौं अप्ठ्यारा अवरोधहरु किन नहुन् तिनलाई छिचोल्दै उद्देश्यपूर्ण यात्रामा आफूलाई समाज परिवर्तनको संवाहक तुल्याउँदछ ।

संयोगले एउटै वर्ष अर्थात् २००२ सालमा जन्मिएका यामप्रसाद भण्डारी र दिव्य भुर्तेल जसले झापालाई कर्मथलो बनाए यी दुई व्यक्तित्व जसले केवल आफ्नो व्यक्तिगत दायित्व मात्र पूरा गरेनन् ,बरु समाजका लागि र भावी पुस्ताका लागि एउटा उज्यालो मार्ग प्रशस्त गरे ।

पञ्चायती शासकको कठोर यातनामा व्यक्तिगत लाभसँग कहिल्यै सम्झौता गरेनन्। पटकपटक जेल नेल र हिरासतको नमिठो यात्रालाई रोजिरहे । अन्याय अत्याचार शोषण र दमनका विरुद्ध निरन्तर बिगुल फुक्दै गए। समाजमा जनचेतना फैलाउन युवा र तन्नेरीलाई जागरुक बनाउन आफ्नो जीवनको यौवन र स्वर्णिम कालखण्डलाई तिलाञ्जली दिए ।
तपस्या त्याग र निष्ठाको जीवनलाई आत्मसात् गर्दै सहयात्री र सिङ्गो समाजलाई समतामूलक न्यायपूर्ण र लोकतान्त्रिक समाज निर्माणतर्फ उन्मुख गराउने प्रेरणा प्रदान गरे ।

शिक्षण र संगठनलाई सँगसँगै अघि बढाएका यामप्रसाद भण्डारीले विद्यार्थी युवा र तरुणहरूमा राजनीतिक चेतना सामाजिक न्यायप्रतिको प्रतिबद्धता र समानताप्रतिको बोध गराउँदै आजका दिनसम्म जननेता बीपी कोइरालाका आदर्शलाई डगमगाउन दिएनन् । केही समय टिम्बर कर्पोरेसनमा जागिरे जीवन बिताएका दिव्य भुर्तेलले सामाजिक अगुवाका रुपमा गाउँ सहर र जिल्लाहरूमा सर्वसाधारणसँग संवाद गर्दै चेतनाको संवाहक बनिरहे । तत्कालीन युवराज वीरेन्द्र वीरविक्रम शाहको सवारी हुँदा मेची पुल बनाउन स्थानीय व्यवसायीबाट निकासी करस्वरूप संकलित रकम २५ लाख रुपैयाँ दर्शन भेटका नाममा चढाइएपछि यिनै योद्धाहरूले चर्को विरोध गरे। पञ्चायतको जगजगीमा राजाको विरोध चानचुने विषय थिएन। स्थानीय प्रशासनले नियन्त्रणमा लिएर लामो समय यातनासहितको कारागारमा पठायो।

यी दुवै व्यक्तित्वले आफूलाई कुनै अमुक पेशा वा स्थानमा मात्रै सीमित राखेनन्। समाजका सबै तह र तप्कामा पुगे। कहिले निर्वासित भए ,प्रशासनको आदेशमा मरणासन्न हुने गरी कुटाई खाए ,शौचालयका खाडलमा गाडिए ,नदीका किनारमा फ्याँकिए ,जेलनेल र हतकडी, कहालीलाग्दो यातना अनि मृत्युको संघार टेकेर फेरि फर्किए ।

क्रान्ति र आन्दोलनका लडाइँहरूमा अग्रमोर्चामा उभिए । कहिले भूमिगत भए, कहिले मोर्चामा देखिए ,कहिलेकाहीँ लेखनमा, कहिले सम्पादनमा रहेर जीवनको लक्ष्यलाई राष्ट्रियताको ,स्वतन्त्रताको, प्रजातन्त्रको र लोकतन्त्रको स्वर्णिम बिन्दुमा खोजिरहे ।

मुलुक र मुलुकवासीको खुसीका लागि आफ्ना पीडाहरुलाई पन्छाइदिए। कुशल संगठनका रुपमा क्रान्तिकारी नेतृत्वका रुपमा निस्वार्थी अगुवाका रुपमा आफूलाई उभ्याउँदै लोकतान्त्रिक मूल्य मान्यताको प्रतिबद्धताका साथ पञ्चायतकालीन दमनको अविछिन्न प्रतिरोध गरिरहे ।

व्यक्तिगत र पारिवारिक जीवनभन्दा माथिल्लो चरणमा उभिएर सिङ्गो समाज र मुलुकलाई दिशानिर्देश गर्ने यिनै व्यक्तित्व यामप्रसाद भण्डारी र दिव्य भुर्तेल संघर्ष साधना र परिवर्तनको संवाहक बनेर आज पनि यो समाजलाई उज्यालो मार्ग देखाउन निरन्तर सक्रिय रहनु आफैमा प्रेरणादायी विषय हो।

यिनै व्यक्तित्वको अदम्य साहस र समर्पणले तन्नेरी पुस्तालाई उत्प्रेरित गरिरहेको छ।

यस्ता व्यक्तित्वको सान्निध्यले समाजलाई गतिशील र रचनात्मक बनाउन थप विश्वास प्रदान गरिरहेको छ। यो प्रस्तुति केवल संघर्षको कथा मात्रै होइन सामाजिक रुपान्तरण र लोकतान्त्रिक मूल्यहरूका लागि अमर प्रेरणाको सन्देश पनि हो।
व्यक्तिगत आकांक्षाहरूलाई गौण राख्दै सिङ्गो समाजको अपेक्षा सपना र स्वर्णिम भविष्यका लागि आफ्नो जीवनको सबैभन्दा महत्वपूर्ण कालखण्ड समर्पण गरे। आदर्श र निष्ठाको बिम्ब बोकेको जय नेपाल प्रतिभा प्रोत्साहन प्रतिष्ठान झापाले भण्डारी र भुर्तेललाई पूर्णटुङ्ग आदर्श नागरिक सम्मानद्वारा अभिनन्दन गरिरहँदा केवल सम्मान समर्पण मात्र होइन, यो त हामी सबैका लागि प्रेरणा बनेको छ । समानता न्याय र सुदृढ लोकतन्त्रका लागि नवीन प्रतिज्ञा गर्ने पावन अवसर बन्न पुगेको छ ।
अभिनन्दित व्यक्तित्वहरू भण्डारी र भुर्तेललाई स्वस्थ एवं दीर्घ जीवनको कामना !! हार्दिक शुभेच्छा हार्दिक शुभकामना !!!

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्