झापा, बैशाख २१ । देशभरका परीक्षा केन्द्रमा आजदेखि कक्षा १२ को परीक्षा शुरु भएको छ ।

परीक्षामा ५ लाख ११ हजार ५ सय २५ जना परीक्षार्थी सहभागी भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । नियमिततर्फ ३ लाख ९५ हजार ९ सय ८ र आंशिक १ लाख १५ हजार ६ सय १७ जना विद्यार्थी परीक्षामा सहभागी भएका हुन् ।
५ हजार २ सय २ विद्यालयका विद्यार्थीलाई कक्षा १२ को परीक्षा दिन १ हजार ५ सय ९१ परीक्षा केन्द्र तोकिएको बोर्डले जनाएको छ । जसमध्ये जापानस्थित एभरेस्ट स्कुलबाट ३८ जना विद्यार्थी त्यहींको केन्द्रबाट परीक्षामा सहभागी छन् । झापामा १८ हजार ८२६ जना विद्यार्थी परीक्षामा सहभागी भएका छन् । ४९ वटा परीक्षा केन्द्रमा नियमिततर्फ १४ हजार ८८६ र आंशिकतर्फ ३ हजार ९४० जना विद्यार्थी परीक्षामा सहभागी भएका हुन् ।
७७ जिल्लामध्ये सबैभन्दा कम मनाङबाट ४५ जना र सबैभन्दा बढी काठमाडौंबाट ६८ हजार १ सय ३३ जना परीक्षार्थी छन् । मनाङ र मुस्ताङमा १–१ वटा र काठमाडौंमा सबैभन्दा धेरै १ सय ६२ वटा परीक्षा केन्द्र तोकिएको बोर्डले जनाएको छ ।
जेठ २ सम्म सञ्चालन हुने परीक्षामा ४८ हजार २ सय ९ जना जनशक्ति खटिएका छन् । नेपाल शिक्षक महासंघको शैक्षिक हड्तालसहितको काठमाडौं केन्द्रित सडक आन्दोलनले वैशाख ११ देखि तोकिएको परीक्षा १० दिन पछाडि सरेको हो । परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले विज्ञप्ति जारी गर्दै परीक्षालाई स्वच्छ, मर्यादित, अनुशासित, व्यवस्थित र विद्यार्थीमैत्री बनाउन अपिल गरेका छन् ।
कर्णाली प्रदेशबाट सबैभन्दा कम ३८ हजार ८ सय ८८ र बागमती प्रदेशबाट सबैभन्दा धेरै १ लाख ३५ हजार २ सय ४० परीक्षार्थी सहभागी छन् । बोर्डका अनुसार कोशीबाट ८२ हजार ८ सय ७१, मधेशबाट ६९ हजार ८ सय ८ जना, गण्डकीबाट ४३ हजार ३ सय ४९, लुम्बिनीबाट ९० हजार ६ सय ७८ र सुदूरपश्चिमबाट ५० हजार ६ सय ५४ जना विद्यार्थी परीक्षामा सहभागी छन् ।
परीक्षाको अनुगमन र निरीक्षण गर्न प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला परीक्षा समन्वय समिति गठन गरिएको छ । समितिले परीक्षा अनुगमन तथा पर्यवेक्षण गरिरहेको छ । परीक्षा सञ्चालन अवधिभर केन्द्राध्यक्षबाहेकलाई परीक्षा केन्द्रमा मोबाइल फोन लैजान बोर्डले रोक लगाएको छ । परीक्षा केन्द्रहरूमा विद्युतीय माध्यमबाट प्रश्नपत्र पठाइने व्यवस्था गरिएको शर्माले बताए ।