झापा, बैशाख २१ । लागूऔषध गाँजासहित एक भारतीय एम्बुलेन्स र त्यसका चालकलाई सुनसरी प्रहरीले पक्राउ गरेको छ ।


गएराति नम्बर नखुलेको एम्बुलेन्समा लागूऔषध गाँजा बोकेर जाँदै गरेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालयहरू इटहरी, पकली र रामधुनीबाट संयुक्तरूपमा प्रहरी परिचालन गरि राजमार्ग निस्कने सम्पूर्ण सडक ब्लक गरी एम्बुलेन्समा गाँजा तस्करी गर्ने अभियुक्तलाई पक्राउ गरिएको सुनसरीका प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले बताए। प्रहरीले घेरा हाली रामधुनी नगरपालिका–६ पिडारीमा बीआर३८ए५४१४ नम्बरको भारतीय एम्बुलेन्सलाई चेकजाँच गर्दा ६ वटा कालो बोरामा लुकाएर ल्याएको १८० केजी गाँजा बरामद गरिएको उनले बताए।

गाँजा तस्करी गर्ने एम्बुलेन्स चालक सुनसरी वराहक्षेत्र नगरपालिका–४ बस्ने २५ वर्षीय राजकुमार साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाले बताएका छन्। उनले एम्बुलेन्ससहित पक्राउ परेका साहलाई इलाका प्रहरी कार्यालय पकलीको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्