झापा,बैशाख २२ । भद्रपुरमा स्कुटर दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका–२ गौरीशंकर निवासी ३५ वर्षीय अनिल लिम्बू रहेका छन् ।

गएराति ८.४५ बजे मेची राजमार्गको चारआली–केचना सडकखण्डअन्तर्गत भद्रपुरबाट बनियानीतर्फ गइरहेको प्र १–०१–०१२ प ९९३७ नम्बरको स्कुटर भद्रपुर–४ स्थित झापा चोकदेखि दक्षिण बाहुनगाउँमा अनियन्त्रित भएर दुर्घटना भएको थियो । दुर्घटनामा परी स्कुटर चालक दमक नगरपालिका– २ बस्ने २९ वर्षीय रबिन फुयल सकुशल रहेका छन् । स्कुटर पछाडि सवार लिम्बूको टाउकोमा गम्भीर चोट लागेकोले उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुरमा पठाइएको थियो । लिम्बूको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
वैदेशिक रोजगारीका लागि विदेश जानका लागि बिर्तामोडको एक म्यानपावर पुगेर उनीहरू फर्किँदै थिए । लिम्बूलाई स्कुटर चालक फुयल घर छोड्न आएका थिए । वडा प्रहरी कार्यालय भद्रपुरले स्कुटर र स्कुटर चालक फुयललाई नियन्त्रणमा लिएको छ ।
झापा जिल्लामा नौ महिनामा सवारी दुर्घटनामा परी ७० जनाको मृत्यु भएको छ । चालु आर्थिक वर्षको साउनदेखि चैतसम्म नौ सय ६६ सवारी दुर्घटना हुँदा उक्त मानवीय क्षति भएको हो ।
दुर्घटनामा मृत्यु हुनेमा ५३ पुरुष, १२ महिला र पाँच बालबालिका रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक गणेश पौडेलले जानकारी दिए ।उनका अनुसार नौ महिनामा दुर्घटनामा परी एक सय १७ जना घाइते, एक हजार ४२७ जना सामान्य घाइते भएका छन् ।
त्यस अवधिमा एक हजार ४१३ सवारी साधन दुर्घटना भएकोमा त्यसमा सबैभन्दा धेरै आठ सय ७६ मोटरसाइकल, एक सय ६२ टेम्पो, एक सय ४१ जीप कार, ४५ बस, २८ ट्याक्टर, २२ ट्रक, सात टिपर, दुई÷दुई डोजर र माइक्रो तथा सात वटा अन्य सवारीसाधन रहेका छन् ।