झापा, बैशाख २२ । झापाको कनकाईमा हवाई फायर गरी प्रहरीले ठूलो परिमाणमा लागूऔषध ब्राउनसुगर बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय सुरुङ्गाको कमाण्ड सम्हालेको करिव तीन महिनाको अवधिमा दोस्रो पटक गोली प्रहार गरी प्रहरी वरिष्ठ नायव निरीक्षक राधाकृष्ण दाहालले ठूलो परिमाणमा लागूऔषध बरामद गरेका हुन् ।
आज बिहान अन्दाजी ८ः४० बजे विशेष सूचनाको आधारमा कनकाई नगरपालिका वडा नं. ५ तल्लो चाप्रामारीस्थित सुरुङगा–झापा सडकखण्डमा शरणामतीबाट सुरुङगातर्फ आउँदै गरेको बीआर ३७ टी ९१९८ नं.को मोटरसाइकलमा सवार व्यक्तिलाई रोकेर चेकजाँच गर्न खोज्दा प्रहरी टोलीलाई देख्नासाथ उनी मोटरसाइकल र झोला घट्नास्थलमा नै छोडी फरार भएका थिए ।सो क्रममा .३०३ राइफलबाट २ राउण्ड हवाई फायर भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्र खड्काले बताए । ।
लागूऔषध कारोबारी चढेको मोटरसाइकल र बोकेको झोला बाटोमै छाडी भागेकोले उक्त झोला खोली हेर्दा २ पोकामा प्लास्टिकसहित २०४.०८० ग्राम ब्राउनसुगर बरामद भएको डीएसपी खड्काले जानकारी दिए ।
यसअघि प्रहरी वरिष्ठ नायव निरीक्षक दाहालले कमाण्ड सम्हालेको पाँच दिनमै गत माघ २२ गते गोली चलाएर दुईजना कारोबारीलाई पक्राउ गरेका थिए ।