झापा,बैशाख २२ । मुलुकबाट बर्सेनि अर्बौं रुपैयाँबराबरको पश्मिनाका सललगायतका उत्पादनहरू निर्यात हुने गरेको छ।

चालु आर्थिक वर्षको ८ महिनासम्ममा मात्रै २ अर्ब ११ करोड २४ लाख ५० हजार रुपैयाँबराबरको पश्मिनाका उत्पादनहरू निर्यातबाट मुलुकमा आम्दानी भइरहेको छ । गत आवभर ३ अर्बभन्दा बढी रुपैयाँबराबरको निर्यात भएको थियो। पछिल्लो ८ महिनासम्ममा यो उत्पादन बढी निर्यात हुने १२ औं स्थानमा परेको छ। नेपालमा पश्मिना निर्यातबाट बर्सेनि गरेको आम्दानीले केही हदसम्म विदेशी मुद्रा संकलनमा पनि टेवा पुगेको छ।
समग्र निर्यातमा राम्रै देखिए पनि नेपालको पश्मिना क्षेत्र कच्चापदार्थमा भने परनिर्भर नै छ। कुनै समय गौरवमय इतिहास बोकेको, अर्बौको लगानी, लाखौंंको रोजगारी र नेपालको पहिचान बोकेको पश्मिना व्यवसाय लोप हुन सक्ने खतरा बढ्दै गएको छ। यस वर्षको राष्ट्रिय निर्यात आँकडा अनुसार झन्डै पाँच अर्बको पश्मिना प्रत्यक्ष निर्यात भएको देखिन्छ। ठमेल, ललितपुर, भक्तपुर, पोखरा, सौराहाजस्ता पर्यटकीय स्थलबाट पर्यटकहरूले खरिद गर्ने र उपहारको पनि हिसाब गर्दा अरू थप एक डेढ अर्ब निर्यात भएको आकलन गर्न सकिन्छ। छिमेकी मुलुक खासगरी चीनसँगको परनिर्भरताको कच्ची रसीमा यो व्यवसाय अल्झिएको छ।
यस परिस्थितिलाई मध्यनजर गर्दै २०३० (ई.सं.) सम्ममा नेपाललाई पश्मिनाको कच्चा पदार्थमा आत्मनिर्भर बनाउने प्रतिबद्धतासहित पश्मिना उद्योग संघले एउटा भुवा कमिटी गठन गरी आफ्ना गतिविधि अघि बढाएको छ। देशमा आफ्नै कच्चापदार्थ उत्पादन गर्ने सक्ने प्रचुर सम्भावना हँुदाहँुदै पनि कसैले आँट गरेको देखिँदैन। नेपाल पश्मिना उद्योग संघको संयोजनमा नेपाल फाइबर प्रोसेसिङ कम्पनीले पश्मिनाको कच्चा पदार्थ उत्पादन तथा प्रशोधन गर्ने जमर्को गरेको छ।

विश्व बजारको पश्चिमी मुलुकहरूमा पश्मिनाका उत्पादनहरूले उत्कृष्टता र शृंगारका लागि अत्यधिक मान्यता र मूल्य प्राप्त गरेको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्