झापा, बैशाख २३ । धनकुटामा हिजो भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको छ ।

धरानबाट भोजपुरका लागि जाँदै गरेको को १ ख २१७७ नम्बरको बस हिजो बिहान धनकुटा नगरपालिका–६ औद्योगिकग्राम गोलाईनजिक दुर्घटनामा परेको थियो ।
सख्त घाइते भएका भोजपुरको षडानन्द नगरपालिका–१३ का ५८ वर्षीय लीलाबहादुर श्रेष्ठको आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिहान ४ बजे मृत्यु भएको जनाइएको छ ।
घटनामा परी सख्त घाइते भएकी धनकुटा नगरपालिका–६ की ७३ वर्षीया कृष्णकुमारी भुजेलको धनकुटा अस्पतालमा उपचारका क्रममा हिजै मृत्यु भएको थियो ।
दुर्घटनामा घाइते भएका बस चालक सुनसरीको धरान उपमहानगरपालिका–१३ का ५१ वर्षीय रुद्र तामाङको हिजो बेलुका मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।
अन्य घाइतेमध्ये ७ जनाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान , एक जनाको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको र ३ जना डिस्चार्ज भएको खनालले बताए ।