झापा,बैशाख २३ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले घोषणा गरेको रगत नजम्ने वंशाणुगत समस्या हेमोफिलिया रोगका बिरामीलाई वितरण गर्ने निःशुल्क औषधी नेपाल आएको छ ।


समस्या परेका नागरिकलाई निःशुल्क औषधी उपलब्ध गराउन स्वास्थ्य मन्त्रालय र विश्व हेमोफिलिया महासंघबिच गत फागुन ४ गते सम्झौता भएको थियो ।
सम्झौताअनुसारको औाषधी स्वास्थ्य सेवा विभागमा आइपुगेको र अब वितरण प्रक्रिया सुरु हुने व्यवस्थापन महाशाखा प्रमुख डा. पवनजंग रायमाझीले जानकारी दिए ।
‘‘पाँच प्रकारका औषधी आएको छ’’, उनले भने, ‘‘आवश्यकताअनुसार वितरण गर्ने सूची तयार गरी अस्पतालमा पठाइने छ ।’’

मन्त्रालयले सङ्घीय राजधानी काठमाडौँका त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, कान्ति बाल अस्पताल तथा सिभिल अस्पतालमार्फत औषधी वितरण गर्ने भएको छ ।
यसका अलावा सातै प्रदेशका अन्य थप १० प्रादेशिक अस्पतालहरुमा औषधी पुग्ने व्यवस्था मन्त्रालयले मिलाएको छ ।

गत माघ १० गते सरकारी अस्पतालमार्फत यस्तो सुविधा उपलब्ध गराउने स्वास्थ्य मन्त्री पौडेलले निर्णय गरेका थिए ।

निकै महँगो औषधी अवश्यक पर्ने रोगको उपचारका लागि धेरै बिरामी तथा सरोकारवालामार्फत सरकारले आफैं व्यवस्था गर्न सरकारलाई आग्रह गर्दै आएका थिए ।

त्यसअनुसार औषधी व्यवस्था विभागमा महासंघ र मन्त्रालयबिच यससम्बन्धी सम्झौता भए पछि वितरणको प्रक्रिया सुरु भएको हो ।

अब महासंघबाट प्राप्त जटिल किसिमको वंशाणुगत तथा पछिसमेत देखिने यस रोगको उपचारका लागि पाँच प्रकारका औषधी मन्त्रालयले प्राप्त गरेको प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए ।

विश्व स्वास्थ्य सङ्गठनले नेपालमा पहिचान हुन नसकेका यस्ता करिब पाँच हजार बिरामी रहेको अनुमान गरेको छ । २०७८ को जनगणनामा २.२ प्रतिशतमा अपाङ्गता देखिएका मध्ये ०.८ मा हेमोफिलिया भएको हुनसक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्