झापा, बैशाख २३ । कारबाहीका लागि केन्द्रीय अनुशासन आयोगमा सिफारिस गरिएका पूर्व सभापति उमेश खरेलले आफूमाथि हुने कारबाही प्रभावित पार्ने अभिव्यक्ति र गतिविधि गरेको राष्ट्रिय स्वतन्त्र पार्टी झापाले ठहर गरेको छ ।

नेपालको मौजुदा कानुन अनुसार दुईवटा दण्डनीय अपराध गरेको अभियोगमा पार्टी शुद्धिकरण हेतु प्रमाणसहित कार्बाहीका लागि सिफारिस गरिएका व्यक्तिले अनुसन्धानको नतिजा नआउँदै अनावश्यक भ्रम छरेर आफूमाथि हुने कारबाही प्रभावित पार्ने अभिव्यक्ति र गतिविधि गरेको भन्दै पार्टीले सम्पूर्ण रास्वपाकर्मी र जिल्लावासीलाई सूचित गरेको हो ।

कार्यवाहक सभापति प्रकाश पाठकले एक प्रेस विज्ञप्ति जारी गरी जिल्ला अनुशासन आयोगले आवश्यक अनुसन्धान गरी कारबाहीका लागि केन्द्रीय अनुशासन आयोगमा सिफारिस गरिएको अवस्थामा गल्ती स्वीकार गरी प्रायश्चित गर्दै आफ्नो व्यवहार र चरित्र सुधार गर्नुको साटो सामाजिक सञ्जालको प्रयोग गरी जिल्ला समिति र जिल्लाका प्रमुख नेताहरुले पूर्वाग्रही भई आफूमाथि अन्याय गरेको , अधिवेशनमा पद हत्याउन गुटबन्दी गरेको, अन्य दलबाट आएकाहरुले राष्ट्रिय स्वतन्त्र पार्टी सक्न लागेको, पालिका अधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वका कारण रास्वपाको भविष्य उज्ज्वल छैन, पार्टीमा विभिन्न गुट उपगुट बनाएर कसैको निजी जीवनको बारेमा लाञ्छना लगाइ चरित्र हत्या गरेर व्यक्तिको राजनीति र जीवन बर्बाद गरी फोहोरी राजनीति गरिरहेका छन् भन्ने खरेलले बारम्बार झुठा अभिव्यक्ति दिने गरेको उल्लेख गरेका छन् । यसबाट सम्पूर्ण झापावासी र आम रास्वपाकर्मीमा जिल्ला समिति, नेतृत्व र सिङ्गो पार्टीले पूर्वाग्रही भएर खरेलमाथि अन्याय त गरेको छैन भन्ने भ्रम सिर्जना भएकोले त्यसतर्फ नलाग्न आग्रह गरेका छन् ।

झापा जिल्लाबाट प्रदेशका विभिन्न विभागहरूमा सिफारिस गर्दा सदस्यहरुसँग तोकेरै रकम माग्ने, पार्टी सदस्य तथा जिम्मेवार पदाधिकारीबाट रकम उठाउने तर पार्टीमा नबुझाउने तथा २०८१ पुष ७ गते जिल्ला भेला गरिएको हलको भाडा तिर्नेक्रममा समेत आर्थिक अनियमितता गरेको प्रमाण भेटिएपछि गत फागुन ११ गते खरेलमाथि आवश्यक छानविन गरी कारबाही गर्न जिल्ला समितिको पूर्ण बैठकको सर्वसम्मत निर्णयले जिल्ला अनुशासन आयोगमा सिफारिस गरिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्