झापा,बैशाख २४ । मलेसियामा कामदार पठाउन सिन्डिकेट लगाउने प्रयास सुरु भएको छ ।

सीमित मेनपावर व्यवसायीहरूलाई मात्रै कामदार पठाउन पाउनेगरी सिन्डिकेट लगाउन खोजिएको हो ।
यसअघि केही देशमा जाने कामदारको स्वास्थ्य परीक्षण गराउने स्वास्थ्य संस्थाका हकमा भने सिन्डिकेट लागु भइसकेको छ । अब मेनपावर व्यवसायीको क्षेत्रमा समेत केही व्यवसायीलाई मात्रै कामदार पठाउन पाउनेगरी सिन्डिकेट लागु गर्न खोजिएको हो ।
मलेसियाका केही मेनपावर व्यवसायीसँग मिलेर नेपालका केही मेनपावर व्यवसायीले यस्तो कार्य अघि बढाएका हुन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भुवनसिंह गुरुङले विज्ञप्ति जारी गर्दै सिन्डिकेट लगाउन भइरहेको प्रयासबारे आपत्ति जनाएका छन् ।
मलेसियन तथा केही नेपाली गिरोह मिलेर मलेसियन सरकारलाई समेत प्रभावमा पारेर सिन्डिकेट लगाउन खोजिएको संघको आरोप छ । नेपाली श्रमिकहरूका लागि मलेसिया रोजगारीमा केही सीमित व्यक्तिले एकाधिकार (सिन्डिकेट) खडा गरी मलेसियाको वैदेशिक रोजगार व्यवसायलाई कब्जा गर्ने प्रयास भइरहेको संघको आरोप छ । यसले आम व्यवसायीमा चासो र चिन्ता उत्पन्न भएको संघका अध्यक्ष गुरुङको भनाइ छ ।
विगतमा समेत पटक–पटक मलेसियामा कामदार पठाउन सीमित व्यवसायीहरूले एकाधिकार लाद्ने प्रयास गर्दै आएका थिए । हाल बंगलादेशबाट सीमित मेनपावर व्यवसायीमार्फत मलेसियामा कामदार पठाउने गरिएको छ । त्यसको विरोधमा बंगलादेशको राजधानी ढाकामा प्रदर्शन हुँदै आएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्