झापा,बैशाख २४ । राजधानीमा हुण्डी कारोबार गर्ने दुई जना कारोबारी ४० लाखभन्दा बढी रकमसहित पक्राउ परेका छन् ।

हिजो साँझ ६ः१५ बजे काठमाडौँको बिशाल बजारको भुइँतलामा हुण्डी कारोबार गरिरहेको अबस्थामा ४० लाख ३२ हजार ५०० रुपैयाँसहित उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा कलकत्ता ६÷ डी नर्थ रोड यादवपुर भारत स्थायी वतन भई हाल काठमाडौँ महानगरपालिका वडा नं.२३ ओमबहाल बस्ने ६७ वर्षीय सुजन दत्त र रुपन्देही देवदह नगरपालिका वडा नं.४ स्थायी वतन भई हाल चन्द्रागिरी नगरपालिका वडा नं.१५ तिनथाना काठमाडौँ बस्ने ६३ वर्षीय धर्मप्रसाद ढकाल रहेका छन् ।

उनीहरुको साथबाट ४० लाख ३२ हजार ५०० रकमसहित बिभिन्न बचत तथा ऋण सहकारी संस्था लि.को १९ थान चेक र ११ थान पासबुक बरामद भएको प्रहरी वृत्त जनसेवा काठमाण्डौका प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दले बताए ।
प्रहरी नायव उपरीक्षक चन्दले प्रहरी वृत्त जनसेवा काठमाडौंको कमाण्ड सम्हालेपछि अवैध हुण्डीको कारोबार गर्नेहरु धमाधम पक्राउ पर्न थालेका हुन् । चैत २० गते हुण्डी कारोबार गर्ने एक महिला करिव २१ लाखसहित पक्राउ परेकी थिइन् भने त्यसको दश दिनछि चैत ३१ गते अर्की महिला पनि ९ लाख रुपैयाँसहित पक्राउ परेकी थिइन् ।