झापा, बैशाख २५ । लागूऔषध ब्राउनसुगरसहित झापा अर्जुनधारा– ८ का ३२ वर्षीय अर्जुन राजवंशी पक्राउ परेका छन् ।

गएराति १०.३० बजे अर्जुनधारा– ८ मा लागूऔषध बिक्री भइरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरी टोलीले खानतलासी लिँदा राजवंशीको साथबाट प्लास्टिकसहित ७३० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो । त्यसपछि घरबाहिर दाउरा राख्ने कटेरोमा लुकाई राखेको प्लास्टिकसहित थप ३ ग्राम ६३० मिलिग्राम ब्राउनसुगर बरामद भएको थियो ।
प्लास्टिकबाहेक ३ ग्राम ९० मिलिग्राम , ९ वटा एम्पुल र नगद २७ हजार ६७० रुपैयाँसहित राजवंशीलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।