झापा, बैशाख २५ । भारत प्रशासित कश्मीरमा पर्यटकमाथि आतंकवादी आक्रमण भएको दुई सातापछि भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका विभिन्न स्थानमा शृंखलाबद्ध हवाई हमला गरेको छ ।

भारतीय सेनाको हमलाबाट कम्तीमा ३१ जनाको ज्यान गएको छ भने ५७ जना घाइते भएका छन् । यसअघि २६ जनाको मृत्यु र ४६ जना घाइते भएको बताइएको थियो ।
लगत्तै पाकिस्तानी सेनाले गरेको गोलाबारीमा १५ जनाको मृत्यु भएको छ । भारतका एक वरिष्ठ अधिकारीले नियन्त्रण रेखानजिक भएको गोलाबारीमा भारतका तर्फबाट कम्तीमा १५ जनाको मृत्यु हुनुका साथै ३२ जना घाइते भएको पुष्टि गरेका छन् ।
पहलगाममा २२ अप्रिलमा २६ पर्यटकको ज्यान लिएका हमलाकारीलाई जवाफदेही बनाउने प्रतिबद्धताको एक हिस्साका रूपमा हिजो बिहान ‘अपरेसन सिन्दूर’ सुरु गरिएको भारतीय रक्षा मन्त्रालयले जनाएको छ ।