झापा, बैशाख २६ । जैविक विविधताले सम्पन्न जलथल वनमा दुर्लभ भोटे लहरा भेटिएको छ ।

बिगत ६ वर्षदेखि जलथल वनमा जैविक विविधताको अध्ययन गर्दै आइरहेको फरेस्ट एक्सन नेपालको टोलीले नेपालमै दुर्लभ मानिएको वनस्पति भोटे लहरा फेला पारेको हो । जलथल वनमा भएको अध्ययनले १५५ प्रजातिका रुखहरु अभिलेख भैसकेका छन् ।नेपालको कुल वनको ०१ प्रतिशत भूभाग ओगटेको यो वनमा नेपालका २५ प्रतिशत रुखहरु छन् भन्ने कुरा प्लियोने नामक जर्नलमा हालै प्रकाशित एक अध्ययनले प्रष्ट पारेको छ ।
भोटे लहरा जिम्नोस्पर्म वर्गको एउटा वनस्पति हो, जसको वैज्ञानिक नाम निटम मोन्टानम(Gnetum montanum)रहेको छ।यसका पातहरु झट्ट हेर्दा थकौली लहराका जस्तै देखिन्छन् र हाँगाका आँख्लाहरु अरु भागभन्दा फुकेका हुन्छन् ।यसका फूलका झुप्पाहरु पिपलाका जस्तै देखिन्छन् ।भोटे लहरा चिसो ठाउँमा खोल्सा–खोल्सी छेउछाउ पाइन्छ। भोटे लहरालाई वन्यजन्तु र वनस्पतिको अन्तर्राष्ट्रिय ब्यापार नियमन गर्ने महासन्धिले(साइटिसCITES) अनुसूची ३ (III) मा राखेर व्यापार नियमन गरेको छ ।
भोटे लहरा नेपालदेखि दक्षिण चीनसम्म र दक्षिणपूर्वी एशियाको भियतनामसम्म पाइन्छ । यो पूर्वी र मध्य नेपालमा समुन्द्री सतहदेखि २००–१८०० मिटरको उचाईमा चुरे र तल्लो पहाडी क्षेत्रबाट मात्रै अभिलेख गरिएको छ।यसको नमुना पूर्वी नेपालमा इलाम जिल्लाको चुलाचुली क्षेत्रबाट सन् १९७२ मा डा. तिर्थबहादुर श्रेष्ठ नेतृत्वको समूहले संकलन गरेको थियो।हालै यो झापा जिल्लाको जलथल वनमा पनि भेटिएको छ।जलथलको दियालो सामुदायिक वनमा फरेस्ट एक्सन नेपालले हालै गरेको एउटा स्थलगत अध्ययनले भोटे लहरा नेपालको तराई क्षेत्रमा पहिलो पटक भेटिएको हो।यस स्थलगत अध्ययनमा फरेस्ट एक्सन नेपालका वनस्पति अनुसन्धानकर्ता योगेन्द्रविक्रम पौडेल र स्थानीय कर्मचारी ललिता राजवंशीका साथै दियालो र बिशाल सामुदायिक वनका उपभोक्ताहरु संलग्न थिए।
फरेस्ट एक्सन नेपालका डा लिलानाथ शर्माका अनुसार भोटे लहरा जलथल जंगलमा पाइने अनुमान गरेता पनि हालसम्म भेटिएको थिएन । ‘यो दुर्लभ लहरा भेटिएसँगै जलथलको महत्व अझै बढेको छ ’ डा शर्माले भने ।
भोटे लहरा दुर्लभ मात्र नभई वनस्पति उद्द्विकासको एउटा महत्वपूर्ण सेतु भएको कुरा अध्ययनमा संलग्न योगेन्द्रविक्रम पौडेलले बताए।