झापा, बैशाख २६ । आफ्नै बुहारीलाई चुलेसी प्रहार गरी हार्पिक सेवन गरेका झापा कचनकवलका एक बृद्धको उपचारका क्रममा मृत्यु भएको छ ।

गत मंगलवार राति ८ः१५ बजे कचनकवल गाउँपालिका वडा नं.७ बस्ने प्रेमकुमार सदेम्बा (लिम्बू) की श्रीमती ५२ वर्षीया सलानी सदेम्बालाई पुरानो रिसिविका कारण उनका ससुरा ७८ वर्षीय प्रेमबहादुर सदेम्बाले तरकारी काट्ने चुलेसी प्रहार गरेका थिए । टाउकोमा चोट लागेर घाइते भएकी बुहारी सलानीलाई ओमसाई पाथिभरा अस्पताल भद्रपुर लगिएको थियो । त्यहाँबाट सलानीलाई थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएको थियो ।
चुलेसी प्रहार गर्ने प्रेमबहादुरलाई खोजतलास गर्ने क्रममा राति ११ बजे उनी आफ्नै घरमा हार्पिक सेवन गरी अचेत अवस्थामा फेला परेका थिए । उनलाई बनियानी प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचारपश्चात् थप उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो ।
हिजो दिउँसो अबस्था गंभीर बनेपछि प्रेमबहादुरलाई थप उपचारको लागि ओमसाई पाथीभरा अस्पतालको आइसीयुमा भर्ना गरिएको थियो । उपचारका क्रममा आज बिहान ४ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।