झापा, बैशाख २७ । नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपाल ताप्लेजुङ फुङलिङ नगर कमिटीका अध्यक्ष सन्तोष लिम्बूमाथि धारिलो हतियार प्रहार भएको छ ।

हिजो साँझ ७ बजे ताप्लेजुङ फुङलिङ ४ तोक्मेमा अचानक बाटोमा हिडिरहेको बेला २८ वर्षीय लिम्बूमाथि मोटरसाइकल रोकी फुङलिङ –४ बस्ने २५ वर्षीय अशोक लिम्बू र २४ वर्षीय सुरज लिम्बूले धारिलो हतियार प्रहार गरेका हुन् । खुकुरी प्रहार गर्ने अशोक र सुरज नेपाली कांग्रेस समर्थक हुन् । उनीहरु प्रदेशका उद्योग , कृषि तथा सहकारी मन्त्री खगेन्द्रसिंह हाङ्गामनिकट भएको बताइन्छ ।
घाइतेलाई जिल्ला अस्पताल ताप्लेजुङमा सामान्य उपचारपश्चात् थप उपचारको लागि आज बिहान ८ बजे बिर्तामोडको बीएण्डसी अस्पतालमा भर्ना गरिएको छ । उनको टाउकोको बायाँपट्टिको भागमा गहिरो चोट लागेको बताइएको छ । उनीहरुबीच ब्यक्तिगत रिसिबी रहेको बुझिएको छ । खुकुरी प्रहार गर्ने ब्यक्तिहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
यसैबीच राष्ट्रिय युवा संघका नगर कमिटी अध्यक्ष लिम्बूलाई धारिलो हतियार प्रहार गर्ने दोषीलाई कडाभन्दा कडा कानुनी कार्बाहीको माग गर्दै राष्ट्रिय युवा संघका फुङलिङ नगर कमिटीका उपाध्यक्ष काजी सुनुवारले प्रेस बिज्ञप्ति जारी गरेका छन् ।
