झापा, बैशाख २७ । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले भारतले पाकिस्तानविरुद्ध गरेको युद्धलाई नेपालले समर्थन गर्न नहुने बताएका छन् ।

सरकार र केही पार्टीले समर्थन गर्दै हिडेकोमा आपत्ति जनाउँदै खनालले दुबै देश छिमेकी राष्ट्र भएका कारण अहिलेको समस्या वार्तामार्फत समाधान गर्नु पर्ने बताए ।

नेकपा (एकीकृत समाजवादी) झापाको १० औं जिल्ला अधिबेशनको आज बिर्तामोडमा उद्घाटन गर्दै उनले केपी ओली नेतृत्वको सरकारमा आफ्नो सत्ता जोगाउन बिदेशीको गुलाम बन्ने प्रवृत्ति देखिएको आरोप लगाए । परराष्ट्र मन्त्रालयले बिहीबार प्रेस विज्ञप्ति जारी गरेर आतंकवादविरुद्ध नेपाल सरकारको दृढ अडान रहेको उल्लेख गर्दै भारतको समर्थन जनाएको थियो । नेता खनालले गलत ब्यक्तिको हातमा देशको नेतृत्व गएका कारण कम्युनिस्ट आन्दोलन संस्थागत हुन नसकेको धारणा राखे । नेपालमा ठुला कम्युनिस्ट पार्टी हौं भन्नेहरु दक्षिणपन्थी भएको उनको आरोप थियो ।

दलाल पुँजीवादीको मुल पार्टी भनेको नेपाली कांग्रेस नै भएको र त्यसैको पुच्छर भनेर एमाले हिडेको भन्दै खनालले कांग्रेससंग मिलेर कसरी देशमा लुटपाट गर्न सकिन्छ भनेर एमाले हिडेको आरोपसमेत लगाए ।

नेकपा (एकीकृत समाजवादी)का जिल्ला कमिटी अध्यक्ष बेदराज रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा नरेश खरेलसहित १० जना पुराना बामपंथी नेताहरु सम्मानित भएका छन् ।

सम्मानित नेता खनालले खरेलसहित इन्द्रबहादुर बुढाथोकी, नारायणसिंह राजवंशी, जनार्दन उप्रेती, देवी बराल, पुण्यप्रसाद खरेल, गंगा ओली, ताराराज ओली, तारा रुचाल र पुण्य नेपाललाई सम्मान गरेका थिए । लामो समय एमालेको केन्द्रीय तहमा बसेर काम गरिसकेका खरेल सत्र बर्ष लामो बन्दी जीवन बिताईसकेका झापाली कम्युनिस्ट आन्दोलनका अगुवा हुन् ।

सम्मान ग्रहणपछि बोल्दै नेता खरेलले नेपाली कम्युनिस्ट आन्दोलनको मोडालिटी कमजोर बन्दै गएको चिन्ता व्यक्त गरे । उनले जिन्दगीको उर्वर समय बामपन्थी आन्दोलनमै समर्पण गरेको सुनाउँदै नेपालको समाजवाद आन्दोलनलाई नेतृत्व गर्ने हिम्मत अझै रहेको बताए । अधिबेशनको उद्घाटन समारोहमा केन्द्रीय उपाध्यक्ष जगन्नाथ खतिवडा, उपमहासचिव एवम् कोशी प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र राई, सचिब बलदेव चौधरी, पोलिटब्युरो सदस्यहरु अशेष घिमिरे, महेश रेग्मी, दुर्गा परियार, कोशी प्रदेश अध्यक्ष सरिता खड्का, एकीकृत समाजवादी झापाका इन्चार्ज पुष्पराज पोख्रेललगायतले सम्बोधन गरेका थिए ।

उपाध्यक्ष प्रत्युस रानाले स्वागत गरेको कार्यक्रममा सचिव बिपी भट्टराई र तीर्थ सिग्देलले संचालन गरेका थिए । अधिबेशनमा ४ सयभन्दा बढी प्रतिनिधिहरु सहभागी छन् । आइतवारको बन्दसत्रले आगामी नेतृत्व चयन गर्ने जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्