झापा,बैशाख २८ । नेपाल सरकारद्वारा यसै हप्ता हुन लागेको सगरमाथा संवादको पहिलो संस्करणका लागि भारत सरकारले सवारीसाधन हस्तान्तरण गरेको छ।


सहयोगस्वरुप भारत सरकारले १५ ओटा विद्युतीय सवारी साधन (गाडी) उपलब्ध गराएको हो ।
नेपाल भारत सहयोग कार्यक्रम अन्तर्गत उपलब्ध गराइएका ती सवारी साधन आज परराष्ट्र मन्त्रालयमा आयोजित एक समारोहमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवालाई नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले हस्तान्तरण गरेका हुन्।
मन्त्री राणाले नेपालले आयोजना गरेको सगरमाथा संवादका लागि भारतले उपलब्ध गराएको सहयोगका लागि भारत सरकारलाई धन्यवाद दिएकी छन्।
उनले जलवायु परिवर्तन नेपालको मात्र नभएर यस क्षेत्रकै एक साझा चुनौतीका रुपमा रहेकाले यसको समाधानका लागि सबैको आपसी समन्वय र सामूहिक प्रयास आवश्यक रहेकोमा जोड दिइन्।
नेपालले आयोजना गरेको सगरमाथा संवाद कार्यक्रमले जलवायु परिवर्तन सम्बन्धी यस क्षेत्रको साझा समस्याको उजागर गर्दै त्यसको समाधानका उपाय खोजीका लागि सामूहिक प्रयत्नको मोडल तय गर्ने जानकारी दिइन्। उनले यसमा भारत सरकारको सहयोग उल्लेखनीय रहेको बताइन्।
मन्त्री राणाले यही मे १६‐१८ मा आयोजना हुन लागेको सगरमाथा संवादको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको बताइन्। उनले अब नेपाल सरकार विदेशी उच्चपदस्थ व्यक्तित्वहरू तथा पाहुनाको स्वागतको प्रतीक्षामा रहेको उल्लेख गरिन्।

राजदूत श्रीवास्तवले भारत सरकारले नेपालको आर्थिक, सामाजिक लगायतका क्षेत्रमा पुर्याउँदै आएको सहयोगको चर्चा गर्दै सगरमाथा संवादका लागि सवारीसाधन उपलब्ध गराउन पाएकोमा खुसी व्यक्त गरेका छन्।

उनले जलवायु परिवर्तनको चुनौती यस क्षेत्रकै साझा समस्या रहेकाले यसको समाधानका उपायहरूमा भारत सरकार नेपालको साथमा रहेको बताए।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्