झापा, बैशाख २८ । दमकमा स्कुटरलाई ठक्कर दिई फरार भएका ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

गएराति १०.१५ बजे दमक नगरपालिका वडा न.–१ रबि स्टेन्डको गेटमा बेलडाँगीबाट दमकतर्फ आउँदै गरेको ग १ ख ६४३७ नम्बरको ट्रकले फाल्गुनन्द चोकबाट बेलडाँगीतर्फ जाँदै गरेको मे ८ प ४५५८ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । दुर्घटनामा स्कुटर चालक ताप्लेजुङ फक्ताङलुङ गाउँपालिका वडा न.–०५ पापेथोक बस्ने २२ वर्षीय अंकित लिम्बूको घटनास्थलमा नै मृत्यु भएको थियो । लिम्बू दमक थकाली किचन घरका स्टाफ हुन् । स्कुटरको पछाडी सवार पाँचथर मिक्लाजुङ गाउँपालिका वडा न.–४ बस्ने ४२ वर्षीया सिर्जना राई गम्भीर घाइते भएकी छन् । घाइतेलाई दमक अस्पतालमा सामान्य उपचारपश्चात् थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएको छ ।
ठक्कर दिने ट्रक चालक इलाम सन्दकपुर गाउँपालिका वडा न. ३ बस्ने २५ वर्षीय रोशन केरुङ लिम्बू फरार भएका थिए । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा ट्रक चालक लिम्बूलाई बिर्तामोड नगरपालिका वडा न. ५ माता मन्दिरबाट आज बिहान ९ः५५ बजे नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी खगेन्द्र खड्काले बताए । उनले लिम्बूमाथि सवारी ज्यानसम्बन्धी कसूरमा अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।