झापा,बैशाख २९ । नेपालले यू–१९ साफ च्याम्पियनसिपमा श्रीलंकालाई ५–० ले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको छ ।

नेपालसँगै समूह ‘बी’ बाट भारत पनि अन्तिम चारमा पुगेको छ । अब समूहको शीर्ष स्थानका लागि नेपाल र भारत भिड्ने छन् । दुवै टिम समान तीन–तीन अंकमा छन् ।

श्रीलंका भने लगातार दोस्रो हारसँगै प्रतियोगिताबाट बाहिरिएको छ । नेपालका लागि सुजन डंगोल, धर्वेन्द्र कुँवर र सुवास बम, विज्ञान खड्का र लक्षु थापाले १–१ गोल गरे । सुजनले पहिलो हाफको इन्ज्युरी समयको चौथो मिनेटमा पहिलो गोल गरे । उनले राम थापाको क्रसलाई गोलमा परिणत गरेका हुन् । धमेन्द्रले ६१ औं मिनेटमा दोस्रो गोल थपे ।

सुवासको क्रसमा उनको प्रहार डिफ्लेक्ट हुँदै गोलमा परिणत भएको थियो । सुवास आफैंले ७७ औं मिनेटमा गोल गरेका हुन् । विज्ञानले ९० औं मिनेटमा पाँचौं गोल गरे । लक्षुले दोस्रो हाफको इन्ज्युरी समयको चौथो मिनेटमा यो गोल गरेका हुन् ।

यसै समूहको पहिलो खेलमा भारतले श्रीलंकामाथि ८–० को ठूलो अन्तरको जित निकालेको थियो । यसअघि समूह ‘ए’ बाट बंगलादेश सेमिफाइनल पुगेको छ । उसले आइतबारको पहिलो खेलमा भुटानलाई ३–० ले पराजित गरेको थियो । जितसँगै बंगलादेशको दुई खेलबाट चार अंक भएको छ । आफ्नो पहिलो खेलमा बंगलादेशले माल्दिभ्ससँग २–२ को बराबरी खेलेको थियो ।

अब यो समूहको लिग चरणको अन्तिम लिग खेलमा माल्दिभ्स र भुटान भिड्ने छन् । त्यसमा माल्दिभ्सलाई सेमिफाइनल पुग्न बराबरी नै पर्याप्त रहनेछ भने भुटानलाई निश्चित जित आवश्यक पर्नेछ । बंगलादेशको जितमा भने मोहमद मर्सेद अलि, सुमाने सोरेन र नजमुल हुडाले गोल गरे ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्