झापा, बैशाख २९ । विभिन्न कम्पनीको नाममा बिर्तामोडमा चिठ्ठा धन्दा मौलाउँदै गएको छ ।

प्रत्येक महिना आकर्षक उपहार पाइने र कोही पनि खाली हात नजाने लोभ देखाएर महिना–महिनामा सर्वसाधारण ग्राहकलाई रकम बुझाउन लगाउने गरी चिठ्ठा धन्दाको संजाल विस्तार भइरहँदा प्रहरी प्रशासनले रोक्न सकिरहेको छैन । घुमाउरो पाराले आफ्नो कम्पनीको प्रोडक्ट बिक्री गर्ने उद्धेश्यसहित चिठ्ठा बिक्रीबाट लाखौं कमाउने गरी बिर्तामोडमा एकपछि अर्को गर्दै करिव आधा दर्जन कम्पनीहरुले त्यस किसिमको अवैध धन्दा संचालन गरिरहेका छन् । जसको बारेमा प्रहरी प्रशासन बेखबर छ । राजनीतिक पृष्ठभूमि भएकै व्यक्तिहरुले अवैधरुपमा चिठ्ठा संचालन गरिरहेकाले प्रहरी प्रशासनले अहिलेसम्म कार्वाही गर्न नसकेको बताइन्छ ।

बिर्तामोडमा ब्राभो , एनके , साँची , अजम्बरी , युएलसीजस्ता कम्पनीहरुले चिठ्ठा संचालन गरिरहेका छन् । होटल किंग्सवेरीअगाडि रहेको मेची कमर्श एण्ड ट्रेड प्रा.लि.ले ब्राभो टेलिभिजन बिक्री गर्ने उद्धेश्यले चिठ्ठा संचालन गरिरहेको छ । कम्पनीले ६ हजार ९९९ जना सदस्य संख्या तोकेको छ ।हालसम्म ३ हजार ५०० सदस्य पुगेको कार्यालय प्रमुख बालकृष्ण अधिकारीले बताए । ती सदस्यहरुले प्रत्येक महिना किस्ताको रुपमा १ हजार २९५ रुपैयाँ बुझाउँछन् । ग्राहकहरुले २७ किस्ता खेल्नु पर्ने नियम छ ।

ब्राभोले हरेक महिना ग्राहकको उपस्थितिमा बिर्तामोड –४ स्थित इन्द्रेणी ब्याङक्वेटमा चिठ्ठा खोल्ने गरेको छ । २७ महिने किस्ताको चिठ्ठा अन्तिम चरणमा पुगेको जनाइएको छ । प्रत्येक महिना उपहार दिनेगरी ग्राहकबाट रकम असुल्ने गरिएपनि मेची कमर्श एण्ड ट्रेड प्रा.लि.का कार्यालय प्रमुख अधिकारी त्यसलाई चिठ्ठाको रुपमा बुझ्न नहुने प्रतिक्रिया दिन्छन् ।

ब्राभोले जिल्ला प्रशासन कार्यालय झापाबाट कुनै पनि स्वीकृति लिएको छैन । नेपाल सरकारबाट नै स्वीकृति लिएको कार्यालय प्रमुख अधिकारी दावी गर्छन् । ब्राभोजस्तै साँची ग्रुप प्रा.लि. , युएलसी इलेक्ट्रोनिक्सजस्ता कम्पनीले पनि आफ्ना प्रोडक्ट बिक्री गर्ने उद्धेश्यले चिठ्ठा संचालन गरिरहेका छन् । महँगो कार , मोटरसाइकल , फ्रिज , वासिङ मेसिनजस्ता आकर्षक उपहार दिने भन्दै संचालन गरिएको चिठ्ठाको लोभमा धेरै सर्वसाधारण परिसकेका छन् ।

विगत दुई दशकअघि पिके फर्निचर , डिजाइनर फर्निचरजस्ता व्यवसायिक संस्थाले घरदैलो कार्यक्रमको नाममा त्यस किसिमको चिठ्ठा संचालन गरेका थिए । धेरैजना ठगीमा परेपछि प्रहरी प्रशासनले त्यसबेला बन्द गराएको थियो । अहिले त्यही चिठ्ठा कार्यक्रमको पुनरावृत्ति भएको हो ।

बिर्तामोडमा संचालित चिठ्ठा कार्यक्रमको बारेमा सोधपुछ गर्न केही दिनअघि बिर्तामोड प्रहरीले अजम्बरीका संचालकलाई बोलाएको थियो । अवैध चिठ्ठालाई वैधता दिन खोजिएको एक प्रहरी अधिकारीले बताए । उद्योग बाणिज्य संघ , घरेलु तथा साना उद्योग कार्यालयसंग अनुमति लिएर घुमाउरो पारामा चिठ्ठा खेलाउने गरिएको ती अधिकारीले बताए । ‘ अनेक किसिमको लोभ लालच देखाएर झुक्याउन सक्छन् ’ उनले भने, ‘ त्यसकारण सर्वसाधारणले त्यस्तो लोभमा पर्नु हुँदैन ।’ उनले जिल्लाका सुरक्षा अधिकारीसंग त्यस विषयमा छलफल गर्न लागिएको जानकारी दिए ।

यसरी खोलिएका चिठ्ठा कार्यक्रमलाई जिल्ला प्रशासन कार्यालयले कुनै पनि अनुमति नदिएको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले स्पष्ट पारे । उनले त्यस्ता कार्यक्रमका बारेमा गुनासो आएकाले अनुसन्धान शुरु गरिसकेको जानकारी दिए । यसअघि बिर्तामोडमा चिठ्ठा कार्यक्रमकै कारण तनाव हुँदा प्रहरीको गोली लागेर एकजनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्