झापा, बैशाख २९ । नेपाली लेखक संघ झापाको अध्यक्षमा दयानन्द गोस्वामी चयन भएका छन् ।

नेपाली लेखक संघ झापाको बिर्तामोडमा सम्पन्न पाँचौं अधिवेशनले गोस्वामीको अध्यक्षतामा ११ सदस्यीय समिति सर्वसम्मत चयन गरेको हो । जसको उपाध्यक्षद्वय वेणुप्रसाद अधिकारी र नमूना निरौला, सचिव समिरबाबु कट्टेल, कोषाध्यक्ष अमृता पाठक चौलागाईं, सहसचिवद्वय जितेन साम्पाङ र अम्विका कडरिया रहेका छन् । त्यस्तै गुणनिधि लुइटेल, जमुना खरेल, पुण्य बराल र महेन्द्र कोइराला सदस्य रहेका छन् । दुई सदस्य कार्यसमितिले मनोनयन गर्ने निर्वाचन समितिका संयोजक कृष्ण बराल जानकारी दिए ।
अधिवेशनले सल्लाहकारमा कृष्ण धरावासी, विष्णुकुमार भट्टराई, प्रकाश बुढाथोकी, केशव आचार्य र कृष्ण बराललाई चयन गरेको छ । अधिवेशनको उद्घाटन गर्दै साहित्यकार तथा संघका केन्द्रीय सल्लाहकार धर्मेन्द्रविक्रम नेम्बाङले लोकतन्त्रवादी लेखक लेखकीय सत्ता जत्तिकै सशक्त र उत्तिकै प्रगतिशील हुनु पर्ने बताए ।
‘महाकवी लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठजस्ता साहित्यका धरोहरले बनाएको संगठनको सदस्य बन्न पाउनु गर्वको विषय हो ’ उनले भने, ‘संघको उद्देश्य प्राप्तिका लागि संगठनलाई अझ मजबुत र सिर्जनशील बनाउन आवश्यक छ ।’ उनले लोकतन्त्रवादी लेखकहरु गतिशील र परिवर्तनलाई आत्मसात गर्न सक्ने हुनु पर्ने बताए ।
कार्यक्रममा नेपाली लेखक संघ कोशी प्रदेश अध्यक्ष गोकुल अधिकारी, उपाध्यक्ष लता खरेल, महासचिव बासु पोखरेल, सशांक प्रतिष्ठानका अध्यक्ष छबिलाल खतिवडा, संघका झापा अध्यक्ष कुमार भट्टराई, समीरबाबु कट्टेललगायतले आ–आफ्नो धारणा राखेका थिए ।