झापा, बैशाख २९ । आज राति कावासोती–दुम्कीवास खण्डको बीचमा पर्ने चोरमारा पुल भाँच्चिएपछि पूर्व–पश्चिम राजमार्गमा यातायात ठप्प भएको छ ।

नारायणगढदेखि ४२ किलोमिटर पश्चिममा रहेको फलामे पुल भाँच्चिएका कारण राजमार्ग अवरुद्ध भएको हो । पुल थोरै दबिएको हुँदा पूर्व–पश्चिम हिँडेका सयौँ गाडी चोरमारा र अरुण खोलामा रोकिएको प्रहरीले जनाएको छ ।
‘पुल भाच्चिएको छ त्यहा अनुगमनमा जिल्ला प्रहरी प्रमुख यादव ढकालसहितको टोली गएको छ । राजमार्ग ठप्प छ,’ डीएसपी मधु नेपालले भने ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी पूर्वकै दुम्कीवासको फलामे पुल भाँच्चिएको ४ महिनापछि त्यस्तै प्रकृतिको चोरमारा पुल भाँच्चिएको हो ।



