झापा, बैशाख ३० । विभिन्न आपराधिक घटनाहरु हुन थालेपछि प्रहरीले झापाका क्यासिनो र डान्सबारमा निगरानी बढाएको छ ।


झापाका ठूला भनिएका पाँचतारे होटलहरू किंग्सवेरी र होटल मेची क्राउनमा सञ्चालन भइरहेको क्यासिनोमा अबैध तरिकाले नेपालीहरूलाई प्रवेश गराउने क्रम बढेर झापाका उद्योगी व्यापारीहरू आर्थिक संकटमा परेर आत्महत्या गर्नेसम्मका घटनाहरू हुन थालेपछि प्रहरीले निगरानी बढाएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक राजन लिम्बूले क्यासिनोमा निगरानी गरिरहेको बताए । बैशाख २१ गतेदेखि झापा प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका लिम्बूले पत्रकारहरुसंगको परिचयात्मक कार्यक्रममा बोल्दै क्यासिनोको बारेमा विभिन्न गुनासा आएपछि निगरानी बढाएको जानकारी दिए ।

उनले डान्सबारमा पनि विभिन्न किसिमका गलत क्रियाकलाप हुन थालेपछि प्रहरीले निगरानी बढाएको बताए । डान्सबारमा समस्या छ भनेर सुनिएको बताउँदै उनले पहिलो चरणमा संझाई बुझाई गर्ने र त्यसपछि पनि नमानेको खण्डमा कानुनी कार्वाही गर्ने जानकारी दिए ।बिर्तामोडमा पाँचवटा डान्सबार रहेका छन् ।

त्यस्तै रातको समयमा ठूलो आवाजका साथ गीत संगीत बजाउने र पटाका पड्काउनेलाई पनि प्रहरीले कार्वाही गर्ने भएको छ ।
बिहे र सांगीतिक कार्यक्रमहरुमा ठूलो आवाजका साथ गीत संगीत बजाउने प्रवृत्ति बढ्दै भएपछि प्रहरीले कार्वाही गर्ने भएको हो । विद्यार्थीसंगै सबैलाई असर पर्नेगरी रातको समयमा ठूलो साउन्डमा गीत बजाउने गरेको पाइएपछि त्यसप्रति प्रहरीले निगरानी बढाएको प्रहरी उपरीक्षक लिम्बूले बताए । उनले विवाह र अन्य कार्यक्रममा पटाका पड्काउन बन्देज गरिएको जानकारी दिए ।

लिम्बूले रातिको समयमा गीत, संगीतको नाममा डिस्को, बार, डिजेबाट ठुलो आवाजमा आउने ध्वनि रोक्ने बताए । होटल, बार, डिस्को लगायतका ठाउँमा राति अबेलासम्म ठुलो ध्वनिका साथ डिजे बजाएर समाज खल्बल्याउने जो कोहिलाई नियन्त्रणमा लिने उनले बताए ।

‘पहिला सचेत गराउने’, एसपी लिम्बूले भने–‘अटेर गरे नियन्त्रणमा लिएर कारवाही गरिने छ । रातिको समयमा यसले समाजलाई नकारात्मक असर पारेको छ । मुख्यतया विद्यार्थी, बालबालिका र विरामीहरुलाई डिजेको ठुलो ठुलो आवाजले डिस्टर्व गरेको छ । सुत्न र पढ्न सकिदैन । यसलाई समयसीमा बाहेक रोकिन्छ ।’
प्रहरी उपरीक्षक लिम्बूले झापामा ७८ प्रतिशत अपराध लागूऔषधका कारण हुने गरेको बताए । उनले झापाको १४४ किलोमिटर खुल्ला सीमाका कारण भारतबाट प्रतिबन्धित लागूऔषध नेपाल छिराएर प्रयोग गर्ने, बिक्री गर्ने, कारोवार गर्नेको संख्या धेरै रहेकाले यसलाई नियन्त्रण गर्न सबै समुदाय एकजुट भएर लाग्नु पर्ने बताए ।

उनले भने–‘यो प्रहरीबाट मात्र सम्भव छैन । समाजका सबै समुदायले साथ दिए न्यूनीकरण गर्न सकिने छ । यसका लागि मेरो मुख्य प्राथमिकता रहनेछ ।’

पत्रकारहरुले मोटरसाइकल चोरी, लागूऔषध, सवारी दुर्घटना, सडक बालबालिका, प्रहरी कार्यालयमा विचौलियाको विगविगी, जनताले उजुरी लिएर आएका विषयमा प्रहरी चासो नदिने लगायतका विषयमा ध्यानाकर्षण गराएका थिए । कार्यक्रमको सहजीकरण जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी खगेन्द्रबहादुर खड्काले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्