झापा, बैशाख ३१ । शिकार खेल्न गएका पाँचथरमा एक व्यक्तिको भरुवा बन्दुक पड्किएर मृत्यु भएको छ ।

गएराति ११.३५ बजे पाँचथर फाल्गुनन्द गाउँपालिका–१ उतेस्नीस्थित जंगलमा फिदिम नगरपालिका– ९ दरेनी बस्ने ३३ वर्षीय मनबहादुर सम्बाहाम्फे र सोही ठाउँ बस्ने २० वर्षीय सुन्दर मगर घरेलु भरुवा बन्दुक लिई शिकार खेल्न गएका थिए ।
बाटोमा मानिस आउँदै गरेको देखेर सुन्दर सारु मगरले भरुवा बन्दुक झाडीभित्र लुकाउने क्रममा अचानक भरुवा बन्दुक पड्किई उनको पेटमा लागेको थियो । घाइते मगरलाई जिल्ला अस्पताल पाँचथर फिदिम ल्याई चेकजाँच गर्दा उनको मृत्यु भइसकेको थियो । मृतकको शव जिल्ला अस्पताल पाँचथरको शवगृहमा राखिएको छ । संगै शिकार खेल्न गएका मनबहादुर सम्बाहाम्फेलाई भरुवा बन्दुकसहित प्रहरीले नियन्त्रणमा लिएको छ ।