झापा, बैशाख ३१ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अवैध वित्तीय कारोबारमा संलग्न ७ जनालाई झापाको मेचीनगरबाट पक्राउ गरेको छ।

मेचीनगर– १० धुलाबारीमा गिफ्टोरियम नामक आयात निर्यातको कारोबार गर्दै आएका कविस मारु, अनुज मारुसहित निर्मल राई, दिपेन्द्र खड्का ,महेश पौडेल , अंकित अग्रवाल र सुनिल राईलाई नियन्त्रणमा लिएको हो । उनीहरुलाई सीआइबीको टोलीले काठमाडौँ लिएर गएको बुझिएको छ ।
आज बिहान ७ बजेतिर सीआइबीको टोली आएर शुरुमा ६ जना र त्यसपछि एकजनालाई पक्राउ गरेको हो । व्यापारी मारुसहित उनीकहाँ काम गर्नेहरु पक्राउ परेको जनाइएको छ । धुलाबारीबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय लगिएको र त्यसपछि काठमाडौ लगिएको प्रहरी स्रोतले जनाएको छ ।
पक्राउ परेकाहरूले अवैध कारोबार गरी नेपालमा ठूलो परिमाणमा रकम परिचालन गरेको प्रहरीले जनाएको छ। उनीहरुले अर्बौको अवैध कारोबार गरेको प्रहरी स्रोतले जनाएको छ । पक्राउ परेकाहरुबाट के कति रकम बरामद भएको भन्ने खुलिसकेको छैन ।सीआइबीको टोली पक्राउ गर्न झापा गएको र पक्राउ गरेर ल्याउँदै गरेको जानकारी प्राप्त भएको सीआइबीका प्रवक्ता प्रहरी उपरीक्षक युवराज खड्काले बताए । उनले पक्राउ परेका ती व्यक्तिहरुबाट बरामद भएको रकम काठमाडौं ल्याइसकेपछि मात्र थाहा हुने जानकारी दिए ।
यसअघि दुई साताअघि सीआईबीले अवैध वित्तीय कारोबारमा संलग्न २१ जनालाई ११ जिल्लाबाट पक्राउ गरेको थियो ।
उनीहरूले करिब १७ अर्ब ८६ करोड ७० लाख रुपैयाँभन्दा बढी अवैध कारोबार गरेको खुल्न आएको थियो । ती व्यक्तिहरुसंग धुलाबारीमा पक्राउ परेकाहरुको सम्बन्ध रहेको प्रवक्ता खड्काले जानकारी दिए ।



