झापा,जेठ १ । ओखलढुङ्गालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ ।

राष्ट्रिय खोप कार्यक्रम तालिकाअनुसार जिल्लाका बालबालिकाले पाउनुपर्ने सम्पूर्ण खोप लगाइसकेको सुनिश्चितता गरिएसँगै पूर्णखोप जिल्ला घोषणा गरिएको हो ।
कोशी प्रदेशका १४ जिल्लामध्ये यस वर्ष पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गर्ने ओखलढुङ्गा पहिलो जिल्ला बनेको छ । जिल्ला स्वास्थ्य कार्यालय प्रमुख अहमद मन्सुरीका अनुसार जिल्लाका आठ वटै पालिकाका ७५ वटै वडामा १६ देखि ५९ महिना उमेर समूहका कूल तीन हजार १४० जना बालबालिकाहरुले राष्ट्रिय खोप तालिका अनुसार पूर्णखोप पाइसके पछि पूर्णखोप जिल्ला घोषणा गरिएको हो ।
यस्तै जन्मेदेखि १५ महिना उमेर समूहका एक हजार ६८४ जना बालबालिकाहरुले पनि उमेर अनुसार नियमिति खोप पाइसकेका छन् । जन्मदेखि १५ महिनासम्मका बालबालिका सिद्धिचरण नगरपालिकामा ३१९, चिशंखुगढीमा १६५, मानेभञ्ज्याङमा ३१९, मोलुङमा १५३, सुनकोशीमा २६७, चम्पादेवीमा १७२, लिखुमा १३१ र खिजीदेम्बामा १५८ जना छन् । १६ देखि ५९ महिना उमेरका बालबालिका सिद्धिचरणमा २४१, चिशंखुगढीमा १२८, मानेभञ्ज्याङमा ८५१, मोलुङमा ५०८, सुनकोशीमा ४३६, चम्पादेवीमा ६०८, लिखुमा २८१ र खिजीदेम्बामा ९७ जना छन् ।
जिल्लाका सबै बालबालिकाले खोप पाएको सूनिश्चितता भएकोले जिल्ला स्वास्थ्य प्रमुखको प्रस्ताव अनुसार जिल्ला खोप समन्वय प्रमुख एवम् समिति संयोजक टेकराज भट्टाईले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना भएको जिल्ला घोषणा गरेका हुन् । जिल्ला समन्वय समितिका प्रमुख भट्टराईले पूर्ण खोप सुनिश्चिततालाई दिगोपना दिनुपर्ने र खोप कार्यक्रमलाई जनस्तरमा जागरणका रुपमा लैजानुपर्ने बताएका छन् ।

घोषणा कार्यक्रमको अवसरमा अभियानमा सक्रियतापूर्वक सहभागी हुने स्वास्थ्यकर्मी र पालिकालाई प्रशंसापत्रले सम्मान गरिएको छ । एकपटक पूर्णखोप घोषणा गरिसकेपछि हरेक वर्ष नयाँ थपिने बालबालिकाहरूले समेत खोपको मात्रा पूरा गरेको सुनिश्चित गरेर मात्र सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने गरिन्छ । कार्यक्रमको अवसरमा पालिकाका स्वास्थ्य शाखाहरुले खोपसम्बन्धी कार्य प्रगति प्रतिवेदन र भइरहेका कामबारे प्रस्तुतिकरण दिएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्