कुमरखोद, जेठ १ । विपदमा परेका पीडितका लागि झापा गाउँपालिकामा आश्रय स्थल बन्ने भएको छ ।

झापा गाउँपालिका वडा नं २ वालुवाटारधाममा आश्रय स्थल निर्माण हुने भएको हो । गाउँपालिकाका कार्यवाहक अध्यक्ष अन्जुदेवी थपलियाले आश्रय स्थलको आज शिलान्यास गरेकी छन् ।
सो आश्रय स्थल झापा गाउँपालिका , ह्याविट्याट फर नेपाल र सहारा नेपालको त्रिपक्षीय सहयोगमा बन्न लागेको हो । झापा गाउँपालिकाको ६ लाख १२ हजार ९५० , ह्याविट्याट फर नेपालको ६ लाख ३७ हजार ५०० रुपैयाँको आर्थिक सहयोग तथा सहारा नेपालको प्राविधिक सहयोग रहने सहारा नेपालका कर्मचारी खड्ग नेपालले बताए । उनले उत्थानशील समावेशी दिगो पूर्वी नेपाल कार्यक्रमअन्तर्गत वडा स्तरीय विपद व्यवस्थापन समितिको आश्रय स्थल वन्न लागेको बताए । उनले उक्त भवनको लम्वाई ४५ फुट, चौडाई ३० फुट र उचाई ४.५ फुट रहने जानकारी दिए ।
आश्रय स्थल बनेपछि झापा गाउँपालिकाको वडा नं २ को वालुवाटार , कुवाडी , सिर्जनावस्ती , सुँगावथान लगायतका क्षेत्रका प्रभावित घरपरिवारलाई विपदको बेला सुरक्षित बस्नको लागि सुविधा मिल्ने कार्यवाहक अध्यक्ष थपलियाले बताइन् । आश्रय स्थल निर्माण गर्नका लागि झापा गाउँपालिका वडा नं २ सडकवारी वस्ने समाजसेवी मोहन वस्नेतले ९ लाख रुपैयाँ पर्ने १ कठ्ठा १० धुर जग्गा विपद व्यवस्थापन समितिलाई प्रदान गरेका छन् ।
वडा नं २ का अध्यक्ष हिमालकुमार चम्लागाईको अध्यक्षता भएको कार्यक्रममा प्रमुख अतिथि कार्यवाहक अध्यक्ष थपलिया , नेपाली काँग्रेसका क्षेत्रीय सभापति जयनारायण शाह , विश्व हिन्दु परिषद झापा गाउँपालिका अध्यक्ष ज्ञाननाथ उप्रेती , न्यायिक समिति सदस्य राजकुमार कोच , जनप्रतिनिधि मोहनकुमार राजवंशी , बबिता परियार , योगगुरु पुष्पवहादुर खड्कालगायतको उपस्थिति रहेको थियो ।