झापा,जेठ १ । एकजनाको ज्यान गएको झापाको हल्दिवारीमा हावाहुरीबाट लाखौको भौतिक क्षतिसमेत भएको छ ।

गएराति आएको हावाहुरीले मानिसहरुको घर र विद्यालयमा क्षति पुर्याएको हो । हल्दिबारी वडा नं. ४ बस्ने केदारप्रसाद उप्रेतीको ईटा र सिमेन्टले बनेको २ तले पक्की घरको छतमाथिको ट्रस्ट उडाउँदा २ लाख ५० हजार बराबर क्षति भएको छ । त्यस्तै सोही ठाउँ बस्ने कृष्णकुमारी पौडेलको एक तले घरको टिन उडाउँदा अन्दाजी १० हजार बराबरको क्षति भएको छ ।
त्यस्तै वडा नं ३ ढडुवा डाँडागाउँस्थित चिल्ड्रेन गार्डेन अंग्रेजी माध्यमिक विद्यालयको टिनको छाना, जिप्सम, वाईरिङ र शौचालयमा समेत गरी अन्दाजी १५ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हल्दिवारीमा हावाहुण्डरीबाट घर भत्किँदा वडा न.५ त्रिबेणी चोक बस्ने ६५ वर्षीय मानबहादुर मगरको आफ्नै घर भत्किएर मृत्यु भएको छ ।