झापा, जेठ २ । ताप्लेजुङ र तेह्रथुममा दुईजना मृत फेला परेका छन् ।

ताप्लेजुङको मैवाखोला गाउँपालिका–१ खानीटोल चित्रे निवासी २४ वर्षीया वर्षा तामाङ मृत भेटिएकी छन् । प्रहरीका अनुसार सुमन तामाङकी श्रीमती बर्षा गत बैशाख ३० गते मादक पदार्थ सेवन गरी कोही कसैलाई नसोधी घरबाट हराएकी थिइन् ।
मेरिङदेन गाउँपालिका–५ थुकिम्बा माइती घर भएकी उनको शव हिजो बिहान ११ बजे खानीटोलको जंगलमा भेटिएको थियो । घटनाबारे अनुसन्धान र कानुनी प्रक्रियाको लागि इलाका प्रहरी कार्यालय दोभानबाट प्रहरी टोली घटनास्थलतर्फ गएको छ ।
त्यस्तै तेह्रथुम छथर गाउँपालिका वडा न.३ वासिकास्थित तमोर नदीको बगरमा एक पुरुषको शव फेला परेको छ । हिजो दिउँसो ४ बजे तमोर नदीको बगरमा नाम थर वतन नखुलेको अन्दाजी ३० वर्षका पुरुष बगाई ल्याएको जस्तो देखिने शव घोप्टो अबस्थामा फेला परेको हो । घटनाबारे अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय बसन्तपुरबाट टोली गएको जनाइएको छ ।