झापा,जेठ २ । यातायात व्यवस्था विभागको प्रिन्टिङ्ग प्रणालीमा देखिएको समस्या समाधानपछि चालक अनुमतिपत्र छपाइ पुनः सुरू भएको छ ।

विभागले शुक्रबार एक सूचना जारी गर्दै प्रिन्टिङ्ग प्रणालीमा देखिएको समस्या समाधान पश्चात् सवारी चालक अनुमतिपत्र कार्ड छपाइ कार्य पुन सुचारु भएको जानकारी गराएको हो ।
गत वैशाख २५ गतेदेखि विभागको प्रिन्टिङ्ग प्रणालीमा समस्या आई अत्यावश्यक सवारी चालक अनुमतिपत्र कार्ड छपाइ कार्य बन्द भएको थियो ।
विभागका अनुसार अध्ययन तथा रोजगारीका लागि विदेश जाने नेपाली नागरिक, शान्ति सेना मिशनका लागि विदेश जाने नेपाली सेना एवं नेपाल प्रहरी र गैरआवासीय नेपाली नागरिकहरुबाट हालसम्म प्राप्त स्वीकृत निवेदनहरुको छपाइ कार्य समेत सूचारु भएको छ ।
सवारी चालक अनुमतिपत्र छपाइ भएको यकिन भएमा शनिबारसमेत अत्यावश्यक सवारी चालक अनुमतिपत्र विभागबाट प्राप्त गर्न सकिने जारी सूचनामा उल्लेख छ ।