झापा,जेठ ३ । वैदेशिक रोजगार विभागले एक घण्टाभित्रमा श्रम स्वीकृति दिने गरी तयारी गरेको छ ।

विभागले वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) प्रणालीमा सुधार गरी एक घण्टाभित्र श्रम स्वीकृति दिने गरी तयारी गरेको जानकारी दिएको छ । विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले एक साताअघिसम्म एक व्यक्तिले श्रम स्वीकृति लिन आठ–१० दिन लाग्ने गरेकामा अहिले तीन दिनमा झारेको र अबको तीन-चार एक घण्टामा गर्ने तयारी गरेको जानकारी दिए ।
वैदेशिक रोजगारीको काम कारबाहीलाई प्रविधिमैत्री बनाउन वैदेशिक रोजगार विभागले फेमिस प्रणाली प्रयोगमा ल्याएको हो । प्रणालीमा समय समयमा समस्या आउने गरेपछि श्रमिकहरू समस्यामा पर्ने गरेका छन् । वैदेशिक रोजगारीसँग सम्बन्धित संस्थागत उजुरी
, राहत तथा उद्धार र क्षतिपूर्ति समयानुकुल छुट्टै निर्देशिका-कार्यविधि तर्जुमा गरी लागुु गरिने जानकारी दिएका छन् ।
विश्वको कुनै पनि कुनाबाट श्रम स्वीकृतिका लागि श्रमिकले आवेदन दिँदा एक घण्टाभित्रमा श्रम स्वीकृति दिन सक्ने गरी प्रणाली सुधार हुने उनको भनाइ छ । महानिर्देशक भट्टराईले वैदेशिक रोजगारीको क्षेत्रलाई सुरक्षित, व्यवस्थित, मर्यादित र समयानुकुल बनाउने गरी विभागका उपमहानिर्देशकको संयोजकत्वको पाँच सदस्य समिति गठन गरी काम अध्ययन भइरहेको जानकारी दिएका छन् ।



