झापा, जेठ ३ । नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको ३२ औँ स्मृति दिवसका अवसरमा शनिवार झापाका अलग अलग स्थानमा विविध कार्यक्रम सम्पन्न भएको छ ।

२०५० जेठ ३ गते चितवनको दासढुङ्गामा रहस्यमय जिप दुर्घटना परी दुवै नेताको निधन भएको दिनको सम्झनामा झापामा पार्टी र भ्रातृ संगठनहरुले कार्यक्रम आयोजना गरी मदन–आश्रित स्मृति दिवस मनाएका छन् ।
स्मृति दिवसको सम्झनामा मदन भण्डारी फाउन्डेसन झापाले मानव सेवा आश्रम झापा शाखालाई नगद रु ११ हजार र खाद्यान्न सामग्री प्रदान गरेको छ ।
मदन भण्डारी फाउन्डेसन झापाका अध्यक्ष हरिचरण शिवाकोटी, केन्द्रीय सदस्य चिन्तन पाठक,मेचीनगर नगरपालिकाका उपप्रमुख मिना पोखरेल उप्रेती ,बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र संग्रौला, संस्थाका सचिव शिव ढुंगेल, कोषाध्यक्ष गणेश पोखरेल, आश्रमका अभिभावक नीलकण्ठ तिवारी, मेचीनगर नगरपालिका वडा नं ५ का अध्यक्ष कनकबहादुर कार्की , वडा नं ४ का अध्यक्ष अर्जुन कार्की, वडा नं २ का अध्यक्ष दीपक बराललगायतको उपस्थिति रहेको थियो ।
त्यस्तै नेकपा एमाले झापा जिल्ला कमिटीको आयोजना तथा विर्तामोड नगर कमिटीको सह —आयोजनमा बृहद रक्तदान कार्यक्रम भएको छ । जिल्ला पार्टी कार्यालय विर्तामोडमा नेपाल रेडक्रस सोसाईटी उपशाखा विर्तामोडको प्राविधिक सहयोगमा भएको कार्यक्रममा एकसय बढीले रक्तदान गरेको एमाले विर्तामोड नगर कमिटी अध्यक्ष सुवास भट्टराईले जानकारी दिएका छन् ।