झापा, जेठ ४ । झापाको मेचीनगर नगरपालिका वडा नम्बर –१४ स्थित दुवागढी चौकमा टिपरको ठक्करबाट एक दम्पती गंभीर घाइते भएका छन् ।

आज मध्यान्ह १२ बजे दुवागढी चौकस्थित मेची राजमार्गमा चारआलीबाट चन्द्रगढीतर्फ जाँदै गरेको स१क १८१ नम्वरको टिपरले सोहि दिशातर्फ जाँदै गरेको प्र.१–०१–००१८प.००७४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएका थियो । दुर्घटनामा मोटरसाइकल चालक मेचीनगर नगरपालिका वडा नम्बर –१३ बस्ने ५५ वर्षीय मनप्रसाद लिम्बू र पछाडि सवार उनकी श्रीमती अन्दाजी ५२ वर्षीया टिकाकुमारी श्रेष्ठ (लिम्बू ) सख्त घाइते भएका हुन् । घाइतेहरुलाई बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएको छ ।
मनप्रसादको पिसाव थैलीमा चोट लागेको छ । त्यस्तै टिकाकुमारीको दुवै खुट्टामा चोट लागेको छ । दुवैको अबस्था गम्भीर रहेको छ । तत्काल फरार रहेका टिपर चालक गौरीगञ्ज १ महाभारा बस्ने विजय सरदारलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएको छ । मोटरसाइकल र टिपर प्रहरी चौकी चारआलीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।