झापा, जेठ ४ । बीस लाखभन्दा बढी रकमसहित एक हुण्डी कारोबारी राजधानीमा पक्राउ परेका छन् ।

सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा नं.४ पलाती स्थायी ठेगाना भई हाल काठमाण्डौँ महानगरपालिका वडा नं. ३२ पेप्सीकोलामा बस्ने २४ वर्षीय संजय बस्नेतलाई २० लाख २९ हजार ६२० रुपैयाँसहित पक्राउ गरिएको प्रहरी वृत्त जनसेवा काठमाण्डौका प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दले बताए ।
बस्नेतको साथबाट १००० दरको १७७९ वटा ,५०० दरको ५०१ वटा , १०० दरको एउटा र २० दरको एउटा नोट बरामद भएको थियो । साथै आइफोन एक थान ,विभिन्न बैंकको हस्ताक्षर गरेको तथा खाली चेक ३० थान बरामद भएको प्रहरी नायव उपरीक्षक चन्दले जानकारी दिए ।
योसंगै डीएसपी चन्दको सक्रियतामा करिव एक करोड रकमसहित पाँचजना पक्राउ परिसकेका छन् । गत बैशाख २३ गते हुण्डी कारोबार गर्ने दुई जना कारोबारी ४० लाखभन्दा बढी रकमसहित पक्राउ परेका छन् ।
४० लाख ३२ हजार ५०० रुपैयाँसहित कलकत्ता ६÷ डी नर्थ रोड यादवपुर भारत स्थायी वतन भई हाल काठमाण्डौँ महानगरपालिका वडा नं.२३ ओमबहाल बस्ने ६७ वर्षीय सुजन दत्त र रुपन्देही देवदह नगरपालिका वडा नं.४ स्थायी वतन भई हाल चन्द्रागिरी नगरपालिका वडा नं.१५ तिनथाना काठमाडौँ बस्ने ६३ वर्षीय धर्मप्रसाद ढकाल पक्राउ परेका थिए ।
त्यस्तै गत चैत २० गते हुण्डी कारोबार गर्ने एक महिला करिव २१ लाखसहित पक्राउ परेकी थिइन् भने त्यसको दश दिनपछि चैत ३१ गते अर्की महिला पनि ९ लाख रुपैयाँसहित पक्राउ परेकी थिइन् ।