झापा,जेठ ५ । कोशी प्रदेश सरकारको आर्थिक वर्ष २०८२-०८३ का लागि प्रस्तावित वार्षिक नीति तथा कार्यक्रम सोमबार प्रदेश सभामा प्रस्तुत हुँदैछ ।

सातौं अधिवेशन अन्तर्गतको दोस्रो बैठकमा प्रदेश प्रमुख परशुराम खापुङले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय भएको कार्यवाहक प्रदेश सभा सचिव गौतम राज अमात्यले जानकारी दिएका छन् ।
सचिव अमात्यका अनुसार, सोमबार अपराह्न ३ बजेका लागि बोलाइएको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरिनेछ । सरकारले आइतबार बसेको मन्त्रिपरिषद् बैठकबाट नीति तथा कार्यक्रम पारित गर्दै प्रदेश सभामा प्रस्तुत गर्ने निर्णय गरेको थियो ।
प्रदेश सरकारको यस वर्षको नीति तथा कार्यक्रमले समावेशी विकास, लगानी, रोजगारी सृजना, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, पर्यटन प्रवद्र्धन, कृषि तथा सहकारी क्षेत्रको सुदृढीकरण लगायतका क्षेत्रलाई प्राथमिकता दिने अपेक्षा गरिएको छ ।
यस्तै, संघीयताको मर्म अनुसार स्थानीय तह र प्रदेश सरकारबीचको समन्वय र साझेदारीमा आधारित कार्यक्रम समेटिने सम्भावना रहेको स्रोतले बताएको छ ।
यसअघि प्रदेश सरकारले केही ठूला आयोजनाहरूको कार्यान्वयनमा ढिलाइ तथा बजेट कार्यान्वयनमा कमजोरी देखिएको भन्दै आलोचना खेप्दै आएको थियो । यो वर्षको नीति तथा कार्यक्रमले कार्यान्वयन योग्य र यथार्थपरक योजनाहरू ल्याउने दबाब पनि बढेको छ ।
नीति तथा कार्यक्रममाथिको छलफल र बहस मंगलबारदेखि सुरु हुने सम्भावना छ । विपक्षी दलहरूले प्रदेश सरकारको खर्च प्रणाली, पारदर्शिता र सुशासनमाथि बारम्बार प्रश्न उठाउँदै आएका छन् ।
प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित भएपछि त्यसका आधारमा आगामी आर्थिक वर्षको बजेट तयार पारिनेछ । नीति तथा कार्यक्रम प्रदेश सरकारको समग्र विकास दृष्टिकोण र प्राथमिकता झल्काउने महत्त्वपूर्ण दस्तावेज रहेको प्रदेश सरकारले जनाएको छ ।