झापा,जेठ ५ । चालु आर्थिक वर्षको १० महिनामा घरजग्गा कारोबारबाट ३७ अर्ब ७६ करोड ७१ लाख रुपैयाँ राजस्व उठेको छ ।

सबैभन्दा बढी राजस्व वैशाखमा ४ अर्ब ५४ करोड २२ लाख रुपैयाँ उठेको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ ।
सबैभन्दा कम राजस्व कात्तिकमा २ अर्ब ७० करोड ४० लाख रुपैयाँ उठेको विभागको भनाइ छ । साउनमा ३ अर्ब ८३ करोड ५० लाख, भदौमा ३ अर्ब ९ करोड २ लाख, असोजमा ३ अर्ब ८ करोड १२ लाख, मंसिरमा ३ अर्ब ८७ करोड ४८ लाख, पुसमा ४ अर्ब २५ करोड, माघमा ३ अर्ब ८७ करोड, फागुनमा ४ अर्ब १२ करोड र चैतमा ४ अर्ब ३९ करोड ४६ लाख रुपैयाँको कारोबार भएको विभागको तथ्यांक छ ।
वैशाखमा राजस्वसँगै कुल कित्ताकाट पनि बढेको छ । तर कुल कारोबार चैतको तुलनामा घटेको विभागको तथ्यांक छ । कुल कारोबार घटे पनि चैतको तुलनामा वैशाखमा घरजग्गा कारोबार र कित्ताकाट दुवैको लिखत पारित बढेको विभागले जनाएको छ । वैशाखमा मात्रै ५२ हजार ४२३ वटा नयाँ घरजग्गा किनबेच भएका छन् । गत चैतमा ४९ हजार ८ सय ३२ वटा नयाँ घरजग्गा किनबेच भएको थियो । वैशाखमा कुल १ लाख ४४ हजार ६० र चैतमा १ लाख ४७ हजार ४ सय १६ वटा कारोबार भएको विभागको तथ्यांक छ । चालु आर्थिक वर्षको साउनदेखि वैशाखसम्म कुल १२ लाख ६९ हजार ४ सय ४८ कारोबार भएको विभागको तथ्यांक छ ।
चालु आर्थिक वर्षमा हालसम्मकै उच्च ५७ हजार ९२८ पटक कित्ताकाट लिखत पारित भएको विभागले बताएको छ । गत चैतमा ५४ हजार २ सय ७९ पटक कित्ताकाट लिखत पारित भएको थियो । लिखत पारित भन्नाले सोही महिनामा मात्रै नयाँ भएको कारोबार वा कित्ताकाट बुझिन्छ । समग्र कारोबार र कित्ताकाटमा नामसारी, संशोधन, हाल साविक, जग्गा बाँडफाँटलगायत हुन्छ । वैशाखमा कुल १ लाख २८ हजार ४ सय ८७ पटक कित्ताकाट भएको छ । यसअघि सबैभन्दा कम कित्ताकाट भदौमा ६१ हजार ३ सय ३२ पटक भएको छ । चालु आर्थिक वर्षको साउनदेखि वैशाखसम्म कुल ९ लाख ९७ हजार ९ सय २७ पटक कित्ताकाट भएको विभागको भनाइ छ ।