झापा,जेठ ५ । मोटरसाइकल चोरीमा संलग्न एक गिरोहलाई बिर्तामोडमा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्ने चारजनामध्ये तीनजना एकैघरका दाजुभाइ हुन् । बिर्तामोड– ३ सैनिकमोड बस्ने २६ वर्षीय प्रदिप राजवंशी , २० वर्षीय कुमार राजवंशी , उनीहरुका दाजु कनकाई वडा नं. ६ बुद्धचोक बस्ने २८ वर्षीय रन्जित राजवंशी र बिर्तामोड वडा नं. ७ मियाबारी बस्ने २७ वर्षीय जागिर आलमलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले पक्राउ गरेको हो । राजवंशीत्रय एकाघरका दाजुभाइ हुन् ।
चोरीको तीनवटा मोटरसाइकल र एउटा अटोसहित चोरीमा संलग्नहरुलाई पत्रकार सम्मेलन गरी सोमबार इलाका प्रहरी कार्यालय बिर्तामोडले सार्वजनिक गरेको छ ।
प्रहरीले उनीहरुको साथबाट मे १ ह ४८९६ नम्बरको अटो, मे ८ प २११६ नम्बरको एभेन्जर बाइक, प्रदेश १–०१–०१५ प ९२४२ नम्बरको सुपर स्प्लेन्डर बाइक र मे ९ प ३६१८ नम्बरको पल्सर बाइक बरामद गरेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक विजय श्रेष्ठले जानकारी दिए।चोरीमा संलग्न एकजना फरार रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरूलाई आइतबार चोरी कसुरमा अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
गत बैशाख ६ गते बिहानको राति अन्दाजी २ः३० बजे अर्जुनधारा वडा नं. ५ मुसी चोकस्थित गंगाप्रसाद तिम्सिनाको घर कम्पाउण्डबाट मे १ ह ४८९६ नम्बरको अटो चोरी भएको थियो । जेठ ४ गते बिहान ९ बजे बिर्तामोड वडा नं. ३ सैनिकमोडबाट प्रदिप राजवंशीलाई अटोसहित पक्राउ गरिएको हो ।
त्यस्तै मे ८ प २११६ नम्बरको बजाज कम्पनीको मोटरसाइकल गत माघ १० गते बेलुका अर्जुनधारा वडा नं. ५ बिहीबारे टोलस्थित दिपेन्द्र लम्सालको आफ्नो घर कम्पाउण्डबाट चोरी भएको थियो ।
जेठ ३ गते बिहानको राति अन्दाजी २ बजे कनकाई वडा नं. ८ समावेशी टोलको भित्री सडकबाट रन्जित राजवंशीको साथबाट सो मोटरसाइकल बरामद भएको थियो ।
मोटरसाइकलको वास्तविक नम्बर प्लेट परिवर्तन गरी मे ९ प ८६३० नम्बर लेखिएको नम्बर प्लेट राखी प्रयोग गर्दै आएका थिए ।
त्यस्तै प्रदेश १–०१–०१५ प ९२४२ नम्बरको हिरो कम्पनीको सुपर स्प्लेन्डर मोटरसाइकल गत बैशाख १३ गते राति ८ः३०बजे बिर्तामोड वडा नं. ३ दुर्गा मन्दिर पछाडि ध्रुव सिवाकोटीको घर अगाडिको बाटोमा पार्किङ गरी राखेको अबस्थामा चोरी भएको थियो । सो मोटरसाइकल जेठ ३ गते बिर्तामोड वडा नं. ६ स्यालडाँगीबाट बरामद भएको हो ।
मोटरसाइकलको वास्तविक नम्बर प्लेट परिवर्तन गरी प्रदेश ०१–०१–०१५ प ६१३३नम्बर लेखिएको नम्बर प्लेट राखी प्रयोग गर्दै आएका थिए ।
सो मोटरसाइकल कुमार राजवंशीले चोरी गरेका थिए । कुमारले मोटरसाइकल चोरी गरी आफ्नै दाजु रन्जितलाई रु. ९ हजारमा बिक्री गरेका थिए ।त्यस्तै रन्जितले उक्त मोटरसाइकल बिर्तामोड वडा नं. ७ मियाबारी बस्ने जागिर आलमलाई रु. १५ हजारमा बिक्री गरेका थिए ।
त्यस्तै मे ९ प ३६१८ नम्बरको बजाज कम्पनीको २२० सीसीको पल्सर मोटरसाइकल गत बैशाख ४ गते राति अर्जुनधारा वडा नं. ६ कप्तानबारीस्थित केशवकुमार लिम्बूले आफ्नो घर कम्पाउण्डमा पार्किङ गरेको ठाउँबाट चोरी भएको थियो । सो मोटरसाइकल जेठ ३ गते बिहान ३ बजे बिर्तामोड वडा नं. ४ परोपकार टोलमा डेरा गरी बस्ने जागिर आलमको कोठाबाट बरामद भएको हो ।मोटरसाइकलको वास्तविक नम्बर प्लेट परिवर्तन गरी मे ११ प २९१६ नम्बर लेखिएको नम्बर प्लेट राखी प्रयोग गर्दै आएका थिए ।
कुमारले सो मोटरसाइकल पनि चोरी आफ्नै दाजु रन्जितलाई रु. १५ हजारमा बिक्री गरेका थिए ।रन्जितले उक्त मोटरसाइकल जागिर आलमलाई रु. २२ हजारमा बिक्री गरेका थिए ।जागिर आलमले बिर्तामोड बसपार्कमा मोटरसाइकल वर्कशप संचालन गर्दै आएका छन् ।
त्यस्तै प्रदेश ३–०२–००९ प ५१२७ नम्बरको टीभीएस कम्पनीको स्ट्राइकर मोटरसाइकल गत बैशाख ४ गते राति बिर्तामोड वडा नं. २चारपाने पाथिभरा टोलस्थित अर्जुन खनालको घर कम्पाउण्डबाट चोरी भएको थियो । चोरी गर्ने व्यक्ति कुमारले उक्त मोटरसाइकल चलाई लैजाँदै गरेको अवस्थामा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले चेकिङको क्रममा उक्त मोटरसाइकलको कागजात माग्दा पेश गर्न नसकेपछि मोटरसाइकल प्रहरी कार्यालयमा राखेको थियो । सो मोटरसाइकलको वास्तविक नम्बर प्लेट परिवर्तन गरी प्र. ३–०२–००९ प १५४७ नम्बर लेखिएको नम्बर प्लेट राखी प्रयोग गर्दै आएका थिए ।