झापा, जेठ ५ । कोशी प्रदेशका चारजना सांसद चढेको कार मोरङमा दुर्घटनामा परेको छ।

उक्त कार नेपाल प्रहरीका डीएसपी (प्रहरी नायव उपरीक्षक)ले चलाएको कारसँग ठोक्किएर सोमबार दिउँसो दुर्घटना भएको हो । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कानेपोखरी गाउँपालिका–७ मा दुईवटा कार एकआपसमा ठोक्किएर दुर्घटना भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।

उनका अनुसार विराटनगरबाट झापातर्फ आउँदै गरेको बा ५ च ३५३० नम्बरको कार र झापाबाट विराटनगरतर्फ जाँदै गरेको बी एई १४०६ नम्बरको कार एकआपसमा ठोक्किएर दिउँसो २ बजेतिर दुर्घटना भएको हो । दुर्घटनामा कुनै मानवीय क्षति नभएको र सबै जना सकुशल रहेको जोशीले बताए ।

बी एई १४०६ नम्बरको कारमा कोशीका सांसदहरु मैया श्रेष्ठ लावती, राधाकृष्ण खनाल, नम्बरलाल धिमाल र विद्या चाम्लिङ सवार थिए । प्रहरीका अनुसार प्रदेशसभाको नीति तथा कार्यक्रम सार्वजनिक हुने बैठकमा सहभागी हुन विराटनगर जाँदै गरेका बेला उनीहरु दुर्घटनामा परेका हुन् । पाँचथरकी लावती नेपाली कांग्रेस, झापाका धिमाल नेकपा (एमाले) र मोरङकी चाम्लिङ नेकपा (एकीकृत समाजवादी)का समानुपातिक सांसद हुन् । खनाल झापाको निर्वाचन क्षेत्र नम्बर ४ (क)बाट निर्वाचित एमाले सांसद हुन् ।

दुर्घटना भएका बेला उक्त कार झापाको दमक नगरपालिका–१ का ४० वर्षीय भेषराज श्रेष्ठले चलाएका थिए । सांसदहरु चढेको गाडी पाँचथरकी सांसद मैया श्रेष्ठ लावतीको रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बा ५ च ३५३० नम्बरको कार जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काले चलाएका थिए । उनी विराटनगरस्थित घरबाट कार्यक्षेत्र झापा फर्किदै गरेका बेला दुर्घटना भएको हो ।

घटनाको जानकारी पाउनसाथ इलाका प्रहरी कार्यालय पथरीबाट इन्स्पेक्टर खगेन्द्र एक्तेन नेतृत्वको टोलीले घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ । दुर्घटनामा परेर दुवै कारमा सामान्य क्षति पुगेको र घटनाको थप अनुसन्धान थालिएको डीएसपी जोशीले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्