झापा, जेठ ६ । मेचीनगरको धुलावारीमा रहेको द गिफ्टोरियमबाट पक्राउ परेका ७ जना अवैध वित्तीय कारोबारीमाथि म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अदालतबाट म्याद थपको अनुमति लिएर अनुसन्धान अघि बढाएको हो । अदालतबाट म्याद थप गरी उनीहरुमाथि अनुसन्धान भइरहेको सीआइबीका प्रवक्ता प्रहरी उपरीक्षक युवराज खड्काले बताए । उनले यसअघि सोही आरोपमा पक्राउ परेका २१ जनासरह म्याद थप गरी अनुसन्धान भइरहेको जानकारी दिए । उनीहरुले राष्ट्र बैंक ऐन २०५८ को विरुद्धमा आन्तरिकरुपमा विप्रेषण चलाएको प्रहरी उपरीक्षक खड्काले बताए ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अवैध वित्तीय कारोबारमा संलग्न ७ जनालाई गत बुधवार गिफ्टोरियमबाट पक्राउ गरेको हो । गिफ्टोरियमका मुख्य संचालक मेचीनगर ७ धुलावारी निवासी कविस मारु र अनुज मारु हुन् । उनीहरुसंगै सहयोगीहरु मेचीनगर ७ धुलावारीकै निर्मल राई , दिपेन्द्र खड्का , महेश पौडेल , बिर्तामोड ५ का अंकित अग्रवाल र बिर्तामोड ५ कै सुनिल राई पक्राउ परेका छन् । उनीहरुसंग झापाका अन्य व्यक्तिहरु पनि अवैध वित्तीय कारोबारमा संलग्न रहेको बुझिएको छ । जसको बारेमा सीआइबीले अनुसन्धान गरिरहेको छ ।
दुई साताअघि सीआईबीले अवैध वित्तीय कारोबारमा संलग्न २१ जनालाई ११ जिल्लाबाट पक्राउ गरेपछि गिफ्टोरियमबाट अवैध वित्तीय कारोबार संचालन भएको खुलेको थियो । उनीहरूले करिब १७ अर्ब ८६ करोड ७० लाख रुपैयाँभन्दा बढी अवैध कारोबार गरेको खुल्न आएको थियो ।