झापा, जेठ ६ । चट्याङको उच्च जोखिममा रहेको झापामा वर्षेनि ठूलो जनधनको क्षति हुने गरेको छ । प्रत्येक वर्ष झापामा चट्याङबाट दुई–चारजनाको मृत्यु हुने गरेको हो भने भौतिक क्षति पनि कम छैन ।

आर्थिक वर्ष २०७९ –०८० देखि चालु आर्थिक वर्षको बैशाख मसान्तसम्मको ३४ महिनामा चट्याङले लागेर झापामा ७ जनाको मृत्यु भएको छ । त्यस अवधिमा चट्याङका कारण ३७ वटा घटना हुँदा ७ जनाको मृत्यु हुनुका साथै ९ जना घाइते भएका छन् । त्यस्तै १७ वटा चौपाया मरेका छन् । घर, गोठ र अन्य गरी ३१ वटा संरचनामा चट्याङ पर्दा जम्मा १७ लाख ५८ हजार ३०० रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गत वर्षको असार ११ गते झापामा चट्याङले लागेर एकैदिन तीनजनाको मृत्यु भएको थियो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी सहसचिव रोशनीकुमारी श्रेष्ठका अनुसार नेपालमा झापा, उदयपुर र मकवानपुर जिल्ला चट्याङको उच्च जोखिममा रहेका छन् ।

नेपालमा पछिल्लो चार वर्षमा चट्याङबाट दुई सय ३७ जनाको मृत्यु भएको छ भने नौ सय आठ जना घाइते भएका छन् । कोशीको झापाबाट सुदूरपश्चिमको कञ्चनपुरसम्म र कर्णालीको हुम्लाबाट मधेशको धनुषासम्म चट्याङको जोखिम रहेको छ ।
श्रेष्ठका अनुसार विसं २०७८ साउन १ देखि विसं २०८२ जेठ ५ गतेसम्ममा चट्याङका एक हजार ११८ वटा घटना भएका छन् भने एक हजार ६०७ परिवार प्रभावित बनेका छन् । विश्वमा चट्याङबाट हुने विपद् जोखिमका आधारमा नेपाल पाँचौँ स्थानमा पर्ने उनले उल्लेख गरिन् ।

विगत चार वर्षमा कोशी प्रदेशमा चट्याङका दुई सय ९५ वटा घटना हुँदा तीन सय ६६ घर यसबाट प्रभावित बनेका, छन् । जसमा ५१ जनाको मृत्यु र ८४ जना घाइते भएका उनले जानकारी दिइन् । कोशीमा चट्याङका कारण रु एक करोड ६० लाख ४५ हजार ५०० बराबरको धनमालको क्षति भएको छ भने चार सय २० वटा चौपाया मरेका छन् ।

नेपालमा विपद्बाट जनधनको बढी क्षति हुने दोस्रो ठूलो कारण चट्याङ रहेको त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम केन्द्रीय विभागका सहप्राध्यापक मदन सिग्देलले जानकारी दिए । गत चैतदेखि असारसम्मको प्रि–मनसुन र मनसुन अवधिमा चट्याङका घटना बढी हुने उनले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्