झापा, जेठ ७ । चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूहको मिलमा बरामद भएको काठ छुटाउने चलखेल शुरु भएको छ ।

जेठ ३ गते डिभिजन वन कार्यालय भद्रपुरले चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूहले संचालन गरेको स–मिलवाट करिब ८३ क्यू फिट साखु जातका चिरान काठ अवैध भनी नियन्त्रणमा लिएको थियो । सोही काठलाई वैधता दिने र छुटाउने चलखेल शुरु भएको हो ।
त्यसप्रति नेकपा एमाले भद्रपुर–९, वडा कमिटीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नियन्त्रणमा लिइएको काठ वैध हुन् या अवैध हुन् सोको निष्पक्ष छानविन गरी सत्य तथ्य बाहिर ल्याउन वडा कमिटीले माग गरेको छ ।
वडा कमिटी अध्यक्ष ध्रुवराज कार्की र सचिव महेश न्यौपानेले एक प्रेस विज्ञप्ति जारी गरी उक्त काठ अवैध भए सो कार्य गराउने व्यक्ति वा समूहलाई कडाभन्दा कडा कारबाहीको माग गरेका छन् । यदि कुनै प्रतिशोध दुरासायी भावना वा मोलमोलाहिजामा परि निर्दोषमाथि कारवाही गरिएमा वा दोषीलाई उन्मुक्ति दिने प्रयास गरेमा, सो कार्यको प्रतिकारमा उत्रने विज्ञप्तिमार्फत चेतावनी दिइएको छ । चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दुर्गाप्रसाद भट्टराईले डिभिजन वन कार्यालयले दिएको अनुमतिका आधारमा मात्र चिरान ,कटान तथा उपभोक्तालाई काठ विक्री वितरण गर्ने गरेको दावी गरेका छन् ।
त्यसबारे अनुसन्धान चलिरहेको डिभिजन वन कार्यालयका प्रमुख भरतबाबु श्रेष्ठले बताए । कार्यालयले घटनाको अनुसन्धान गर्न एकजना अनुसन्धान अधिकारी तोकेको छ । अनुसन्धान सकिएपछि सो काठ वैध वा अवैध के हो भनेर स्पष्ट हुने श्रेष्ठले जानकारी दिए ।