झापा,जेठ ७ । आगामी आर्थिक वर्षको बजेट आउने तयारी भइरहँदा विद्युतीय सवारी (ईभी)को आयात बढेको छ ।


आगामी बजेटमा सरकारले भन्सार दर बढाउने चर्चा चलेपछि ईभीको आयात ह्वात्तै बढ्न थालेको छ । केही वर्ष यता ईभी आयातमा सरकारले बजेटमार्फत कर बढाउँदै आएको छ । सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत् पनि ईभीमा कर बढाएको थियो ।
तत्कालीन अर्थमन्त्री वर्षमान पुनले शून्यदेखि ५० किलोवाटसम्मका गाडीमा २० प्रतिशत कर कायम गरेका थिए । जसमा भन्सार शुल्क १५ प्रतिशत र अन्तःशुल्क ५ प्रतिशत छ । यस्तै २०० देखि ३०० किलोवाट क्षमताका विद्युतीय सवारीमा भन्सार शुल्क ६० प्रतिशत र अन्तःशुल्क ३५ प्रतिशत कायम गरिएको छ । ३०० किलोवाटभन्दा बढी क्षमताका ईभीमा भन्सार शुल्क ८० प्रतिशत र अन्तःशुल्क ५० प्रतिशत तोकिएको छ । आगामी आर्थिक वर्षको बजेटमा भन्सार दर अझ बढ्ने हल्लाले ईभीको आयात बढेको जानकारहरू बताउँछन् ।
अहिले रसुवा र तातोपानी नाका हुँदै भित्रिने ईभी त्यहाँका सुक्खा बन्दरगाहमा नअटाएपछि चोभारसम्म ल्याइएको छ ।
चोभार सुक्खा बन्दरगाह ईभीले भरिभराउ भएको नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले जनाए ।
‘दुई साता यता चोभारमा ईभीको संख्या बढेको छ । यसअघि ५०० वटा ईभी पार्किङमा हुन्थे । अहिले १ हजारभन्दा बढी रहने गरेका छन्,’ उनले भने, ‘तातोपानी र रसुवा नाका हुँदै आउने गाडी एक दिनमै चोभार सुक्खा बन्दरगाह आइपुग्छन् । बिक्री नहुन्जेलसम्म चोभार बन्दरगाहमै राख्ने गरेका छन् ।’
मंगलबारमात्रै १ हजार ४५० वटा सवारी भित्रिएकोमा ४०० बाइक आयात भएका छन् भने ४९ वटा पेट्रोलियम पदार्थबाट चल्ने सवारी छन् । यसैगरी १ हजार १ वटा चारपाङ्ग्रे तथा ठुला ईभी आयात भएका छन् ।
यसमध्ये सबैभन्दा धेरै सीजी मोटर्सले आयात गरेको छ । सीजी मोटर्स प्रालिको २९३ वटा कार आयात गरिएको छ । यसैगरी एमएडब्लु वृद्धि मोटर्सस प्रालिले २११ वटा कार, एसपीजी अटोबाइल प्रालिले १३९ वटा कार, जगदम्बा मोटर्स प्रालिको १२३ वटा कार, साङ्ग्रंीला इन्टरन्यास्नल फ्रेट वीटी लिमिटेडले ११८ वटा कार, साङ्ग्रीला मोटर्स प्रालिको ७९ वटा कार, एनईभी नेपाल प्रालिको ७२ वटा भ्यान र १ वटा बस, पाइनियर मोटो क्रप्स प्रालिको ५ वटा कार, प्रज्ञान मोटर्स प्रालिको १२३ वटा भ्यान, सीआइएमइएक्स आईएनसी प्रालिको ४ वटा बस आयात भएका हुन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्