झापा, जेठ ७ । झापाको हल्दिवारी गाउँपालिका काठे पुलबाट लगभग मुक्त भएको छ ।

दुई वर्षअघि काठे पुल भएको हल्दिबारी गाउँपालिकाको भुतेनी खोलामा एक र भुसुडी खोलामा दुई गरी एकैसाथ ३ वटा पुल शिलान्यास गरिएको थियो । ती पुल ४ करोड ९६ लाख ८५ हजार ९ सय रूपैयाँमा ठेक्का लागेको थियो। त्यसमध्ये हल्दिबारी गाउँपालिका वडा नं ५ र १ जोड्ने भुतेनी खोलाको पक्की पुल निर्माण सम्पन्न भई आज उद्घाटन भएको छ ।

झापा क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देनले सो पुलको उद्घाटन गरेका हुन्। २ करोड ३० लाख रुपैयाँको लागतमा पुल सम्पन्न भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन (महेन्द्र) ले बताए । २०७९ कात्तिक ७ गते सम्झौता भएको पुल निर्माणको म्याद २ वर्षको रहेकोमा ५ महिनाअघि नै निर्माण सम्पन्न भएको हो।

४२ .७ मिटर लम्बाई र ७.२ मिटर चौडाई भएको पुल सारा सृष्टि निर्माण सेवा प्रा लि ले निर्माण गरेको हो। बाँकी २ वटा पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको प्रमुख प्रशासकीय अधिकृत वनले जानकारी दिए हल्दिबारी गाउँपालिकाको आफ्नै बजेटमा सो पुल निर्माण भएपछि यहाँका स्थानीयसंगै छिमेकी पालिकाका बासिन्दासमेत लाभान्वित हुनेछन्।

उद्घाटनपश्चात् कार्यक्रममा बोल्दै सांसद लिङ्देनले गाउँपालिकाको काठेपुल मुक्त बनाउने लक्ष्य अनुसार समयमै काम सम्पन्न भएकोमा खुसी व्यक्त गरे ।उनले सीमित स्रोत भएको हल्दिवारीले आफ्नै लगानीमा यति ठूलो कार्य सम्पन्न गरेर जनप्रतिनिधि र कर्मचारीहरु इमान्दार भए विकास सम्भव भएको उदाहरण प्रस्तुत गरेको बताए ।

हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देनको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत वन , वडा नम्बर १ का वडा अध्यक्ष देवीबहादुर थापा, वडा नं ५ का वडा अध्यक्ष खड्गबहादुर लावती, वडा नं ४ का वडा अध्यक्ष सन्तकुमार थापालगायत कार्यपालिका सदस्यहरू,वडा सदस्यहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुसहित स्थानीयको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष लिङ्देनले सीमित बजेट भएपनि विकास निर्माणका क्षेत्रमा पालिका सदैव अगाडि रहेको धारणा राखे । उनले ७ वर्षमा १५० काठेपुल,बाँसेपुल विस्थापित गरी पक्की पुल र कल्भर्ट बनाएको बताउँदै बाँकी रहेका काम पनि गर्दै जाने बताए। कार्यक्रमको संचालन योजना शाखा प्रमुख राजन न्यौपानेले गरेका थिए।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्