झापा, जेठ ७ । करिव दुई महिनाअघि घाइते अबस्थामा फेला परेको जंगली हात्ती मृत फेला परेको छ ।

झापा बुद्धशान्ति–५ को पाँचपोखरी सामुदायिक वनमा ‘घुमन्ते गज’ नामको रैथाने जंगली हात्ती मृत फेला परेको हो । आज दिउँसो २ बजे पाँचपोखरी सामुदायिक वन क्षेत्रभित्र वनका हेरालुले ड्युटी गर्दै जाने क्रममा अन्दाजी ४० बर्षको भाले हात्ती मृत अबस्थामा फेला पारी प्रहरीलाई खबर गरेका थिए ।
अस्थायी प्रहरी चौकी मंगलबारे र सशस्त्र प्रहरी बलको संयुक्त प्रहरी टोलीले खटिएर घटनास्थल सुरक्षित राखेको थियो । त्यस्तै डिभिजन वन कार्यालयका डिभिजन प्रमुख भरतबाबु श्रेष्ठ, वन अधिकृत सुरज निरौला, पशु चिकित्सक डाक्टर सोनाम भालसहितको टोली र कोशी टप्पु वन्यजन्तु आरक्षबाट वन्यजन्तु प्राबिधिक पुरुषोत्तम मुडवरीसहितको टोली आएको थियो । टोलीले सम्पूर्ण कानुनी प्रक्रिया पुरा गरी पोष्टमार्टमपश्चात् सोही स्थानमा खाल्डो खनी गाडेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
डिभिजन वन कार्यालयले लामो समयदेखि विरामी रहेको उक्त हात्तीलाई प्रकृति संरक्षण कोषबाट चिकित्सक ल्याएर उपचार गरेको थियो । मृत हात्तीको दाह्रा छैन । गत फागुन २९ गते मेचीनगरको तेलपानी सामुदायिक वन क्षेत्रमा सो हात्ती घाइते अबस्थामा फेला परेको थियो ।
योसंगै यस आर्थिक वर्षमा झापामा दुईवटा जंगली हात्ती मरेको छ । गत फागुन २९ गते कचनकवल– ७ स्थित पाथीभरा सामुदायिक वनमा करिब डेढ महिनाअघि मरेको हुनसक्ने वयस्क भाले हात्ती सडेगलेर दुर्गन्धित अबस्थामा फेला परेको थियो ।
त्यस्तै यस आर्थिक वर्षमा हात्तीको आक्रमणमा परी झापामा चार जनाको ज्यान गइसकेको छ । गत आर्थिक वर्षमा जिल्लामा ४ वटा हात्ती मृत फेला परेका थिए ।