झापा , जेठ ७ । जंगली च्याउ खाएर इलाममा पाँचजना सिकिस्त भएका छन् ।

इलामको सूर्योदयमा तीनजना र चुलाचुलीमा दुईजना विरामी भएका हुन् । इलाम माङसेबुङ –५ लारुम्बा घर भई हाल सूर्योदय वडा नं. ४ ठुलो श्रीबुङगस्थित आमत थुलुङ राईको घरमा डेरा बसी ज्यालामा चिया टिप्ने काम गर्दै आएका तीनजनाले हिजो बेलुका जंगलबाट टिपेर ल्याएको जंगली ज्याउ पकाएर खाएका थिए । आज बिहान अचानक बिरामी भई तीनै जनालाई उपचारको लागि अस्पताल लगिएको छ ।

विरामी हुनेहरुमा इलाम माङसेबुङ –५ लारुम्बा बस्ने ५२ वर्षीय अमर लावती, सोही ठाउँ बस्ने १७ वर्षीया नुमा लावती र २२ वर्षीया मनिसा थेगिम लिम्बू रहेका छन् । अमर लावतीको फिक्कलस्थित श्रीनिधि अस्पताल र अन्य दुईजनाको दमकको आम्दा अस्पतालमा उपचार भइरहेको इलाम प्रहरीले जनाएको छ ।

त्यस्तै आज दिउँसो जंगली च्याउ खाएर चुलाचुलीमा आमा छोरा बिरामी भएका छन् । दिउँसो १२ बजे चुलाचुली –१ कमल वस्ने ७८ वर्षीया धमकमाया घिमिरे र उनका छोरा ४८ वर्षीय नेत्र घिमिरेले जंगलबाट जंगली च्याउ टिपेर ल्याइ पकाएर खाएका थिए । च्याउ खाएर बिरामी भएका दुवै आमा छोरालाई उपचारको लागि दमकको आम्दा अस्पताल भर्ना गरिएको छ । दुवै बिरामीको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्